इलाका प्रशासनमा कार्य विस्तार

-सेवाग्राहीलाई सुविधा
लोकखबर
२०८२ श्रावण ८, बिहीबार २१:५८

बिदुर–नुवाकोटको सातविसेमा रहेको ईलाका प्रशासन कार्यालयकोे कार्यक्षेत्र विस्तार भएको छ । यसवाट सेवाग्राहीहरुलाई सुविधा पुगेको छ ।
कार्यक्षेत्र विस्तार गरिएसंगै तादी गाँउपालिका ५ र ६ साविक नर्जामण्डप गाविसका बासिन्दालाई प्रशासनिक सेवा लिन जिल्ला प्रशासन कार्यालय विदुरमा नै जानुपर्ने बाध्यता हटेको छ । उक्त स्थानका नागरिकहरुको लागी अवदेखि इलाका प्रशासन कार्यालयबाटै सेवा पाउन थालेका छन् ।
तादी गापाको ५ र ६ का सेवाग्राहीलाई सहज बनाउनको लागी जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवालाहरुको आग्रहमा नुवाकोट प्रशासनले इलाका कार्यालयको भुगोल विस्तारको लागी गत बैशाख ३ गते गृह मन्त्रालयमा अनुरोधसहितको पत्राचार गरेको थियो । सरोकारवालाहरुको आग्रहलाई सम्वोधन गर्दै नुवाकोट प्रशासनले गरेको पत्राचार अनुसार गृहमन्त्री रमेश लेखकले गरेकोे निर्णयका आधारमा तादी गापा ५ र ६ का नागरिकहरुले यहि साउन ७ गते वुधवारदेखि ईलाका प्रशासन कार्यालय सातबिसेबाटै सेवा पाउन थालेका छन् ।

तादी–५ र ६ का सर्वसाधारणले बंशजको आधारमा पाउने नागरिकताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रमा नाम, थर, उमेर, ठेगाना फरक परेमा संशोधन गर्नको लागी कागजात सहजिकरण, जनजाती, मुस्लिम, दलित, अल्पसङ्ख्यक जाती प्रमाणित गर्न, शान्ति सुरक्षा, बजार अनुगमन लगायतका सेवा लिनको लागी प्रशासन कार्यालय जानुपर्ने बाध्यता हटेर साउन ७ गते देखि ईलाका प्रशासन कार्यालयबाट नै सेवा लिन थालेको प्रशासकीय अधिकृत सावित्रा भण्डारीको भनाई छ । उनका अनुसार इलाका प्रशासन कार्यालयले स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी सेवा, नागिरकता सम्बन्धी सेवा, मुद्दा तथा ठाडो उजुरी सम्बन्धी सेवा, विपद् व्यवस्थापन सम्बन्धि सेवा, नागरिक सहायतालगायतका सेवा प्रवाह गरिरहेको छ ।
यसका साथै नेपाल सरकार, गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयबाट निर्देशित कार्यहरू, प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भएअनुसार स्थानीय प्रशासन सञ्चालन, वंशजको नागरिकता वितरण, नाबालक परिचय पत्र जारी, गुनासो तथा ठाडो उजुरीमा तोकिए बमोजिम कार्य सम्पादन, इलाका क्षेत्रको शान्ति सुरक्षा सम्वन्धि काममा प्रमुख जिल्ला अधिकारीलाई सहयोग, विपद् व्यवस्थापन सम्वन्धि कार्यमा जिल्ला प्रशासन कार्यालयलाई सहयोग, निर्देशानुसार अख्तियार दुरुपयोग अनुसन्धान सम्वन्धी कार्य गर्ने, सुशासन/सार्वजनिक सेवा प्रवाह सम्बन्धी कार्य गर्ने र ईलाका क्षेत्रको सवारी साधन संचालन सम्बन्धी कानूनको कार्यान्वयन गर्नेलगायतका कार्यहरु गर्दै आएको छ ।

इलाका प्रशासनले अन्य कार्यहरुमा सरकारी वा सार्वजनिक जग्गामा संरक्षण गर्न सहयोग गर्ने, निर्देशानुसार कार्यालय निरीक्षण तथा अनुगमन गर्ने, सार्वजिनक स्थानमा अवाञ्छानीय व्यवहारको रोकथाम, मादक पदार्थ सेवन नियन्त्रण र सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने सहयोग गर्ने, जिल्लामा संचालित विकास निर्माण कार्यमा सहयोग गर्ने र ईलाका क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न निकायसँग समन्वय गर्ने रहेका छन् ।


सर्वाधिक रुचाइएको