तारकेश्वरमा विद्यार्थीलाई आत्मरक्षा तालिम

– बिदुर प्याव्सनद्वारा उतकृष्ट विद्यार्थी सम्मानित
लोकखवर शिक्षा संवाददाता
२०८३ असार २, मंगलवार ००:२७

बिदुर – नुवाकोेटको तारुकाको विद्यालयमा आत्मरक्षा प्रशिक्षण गरिएको छ । विद्यार्थी तथा शिक्षकहरुलाई उक्त प्रशिक्षण दिइएको हो । तारकेश्वर गाउँपालिकाको सहयोगमा नेपाल स्पोट्र्स सेन्टर (नेकोस) ले तारकेश्वर गापा ३ स्थित पिमलडाँडा माविमा सन्चालन गरेको दुई दिने आत्मरक्षा तालिम सम्पन्न भएको हो । तालिमको तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले समापन गरे ।

उनले जुनसुकै व्यक्तिका लागि आवश्यक पर्दा आफ्नो रक्षा आफैं गर्न सक्ने सीप र कला आवश्यक रहेको उल्लेख गर्दै विशेषगरी किशोर किशोरीहरूका लागि यस्ता आत्मरक्षाको कार्यक्रमको विशेष महत्व रहेको बताए । यो एक सुरुवात मात्रै भएको बताउँदै उनले यस प्रकारका तालिमका कार्यक्रमहरू क्रमशः सबै विद्यालयमा सञ्चालन गरिने बताए । कार्यक्रममा नेकोसकी मुख्य प्रशिक्षक राधिका हमालसँगै सहायक प्रशिक्षकका रूपमा तारकेश्वर गापाकी महिला अगुवा सरु अधिकारीढुङ्गाना र नेकोसकी सहायक प्रशिक्षक मनिषा रानाभाटले विद्यालयका शिक्षक शिक्षिका र कक्षा ९ र १० का छात्र–छात्रालाई आत्मरक्षाको प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षणमा ४० जना छात्रछात्रा र शिक्षकहरूको सहभागीता रहेको थियो । यसैवीच, संस्थागत विद्यालयहरुको छाता संगठन विदुर नगर प्याब्सनले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै ४.० जीपीए प्राप्त गर्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । यसवाट विद्यार्थीहरु उत्साहित भएका छन् ।
सम्मानित विद्यार्थीहरूमा विदुर नपा –९, कोलोनीस्थित सूर्यज्योति एकेडेमीका विद्यार्थी विनोद शाहकानु तथा विदुर–२, बट्टारस्थित सुभेनियर बोर्डिङ स्कुलका विद्यार्थी स्टेफेन धमला रहेका छन् ।

विदुर नगर प्याब्सनका अध्यक्ष रामराजा कुमालसहितको टोलीले विद्यार्थीहरूलाई सम्मान गरेको हो । ४ जिपिए प्राप्त गरेका विद्यार्थीहरूको पूर्वघोषित कार्यक्रमअन्तर्गत घरमै पुगेर अभिभावकसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रमसहित सम्मान गरिएको प्याब्सन विदुरले जनाएको छ । प्याब्सनले विनोद शाह कानुलाई सूर्यज्योति एकेडेमीका पूर्व सञ्चालक राज्यलक्ष्मी पाण्डे र प्रिन्सिपल अनुप बस्नेतको उपस्थितिमा सम्मान गरिएको थियो ।

त्यसैगरी स्टेफेन धमलालाई सुभेनियर बोर्डिङ स्कुलका प्रिन्सिपल ताराबहादुर कार्की, सञ्चालक सरिना श्रेष्ठ तथा सहायक प्रिन्सिपल भेषराज अधिकारीको उपस्थितिमा नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेको हो । सम्मान कार्यक्रममा प्याब्सन बिदुरका अध्यक्ष रामराजा कुमालले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले घरदैलोमै पुगेर सम्मान गरिएको बताए ।

उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास हुने विश्वास व्यक्त गरे । सम्मानित विद्यार्थीका अभिभावकहरूले विदुर नगर प्याब्सनले घरमै आएर सम्मान गरेकोमा खुसी व्यक्त गर्दै यस प्रकारका कार्यक्रमले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनीहरूले प्याब्सनप्रति आभार व्यक्त गरेका छन् ।


सर्वाधिक रुचाइएको