दुर्घटनामा घाइते नावालिकासहित ६ जनालाई काठमाडौं पठाइयो
– चालक र सहचालक प्रहरी नियन्त्रणमा, अन्यको त्रिशूलीमा उपचार जारी
बिदुर–पासाङल्हामु मार्गको लहरेपौवामा विहीवार भएको यात्रुवस दुर्घटनामा घाइते भएकाहरुमध्ये ६ जना गम्भीर रहेका छन् । दुर्घटनामा एक नावालिकासहित २१ जना घाइते भएका थिए ।

घाइते नावालिकासहित ६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ । दुर्घटनामा रसुवाको आमाछोदिङमो गाउंपालिकाकी तीन महिने नावालिका सुहाना तामाङसहित ६ जनालाई विहीवार वेलुकी थप उपचारका लागि काठमाडौं पठाइएको अस्पतालका डा. सन्देशराज उपाध्यायको भनाई छ ।

डा. उपाध्यायका अनुसार घाइतेमध्ये ६ जना गम्भीर, १२ जना घाइते र दुई जना खतरा भन्दा वाहिर रहेका छन् । घाइते मध्ये नौ जना त्रिशूली अस्पतालमा उपचाररत रहेका छन् ।

रसुवाकी २० वर्षिया प्रिन्सकिला तामाङ, ४७ वर्षिया पासाङवुटी तामाङ, पार्वतीकुण्डकी २५ वर्षिया जेनिसा तामाङ, गोसाइकुण्डका ५३ वर्षिय दावा घलेलाई थप उपचारका लागि काठमाडौं पठाइएको त्रिशूली अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले वताए । उनका अनुसार दुर्घटनाका घाइतेहरुलाई उद्धार गरि अस्पताल ल्याउने वित्तिकै आकस्मिक सेवामा द्रुत प्रतिकार्य समूहमार्फत उपचार गरिएको थियो ।

घाइतेहरुमध्ये अधिकांशको हात, खुट्टा तथा शरिरका विभिन्न अंगमा चोट लागेको समूहका श्याम ओझाले जानकारी दिए । उपचापछि रसुवाको उत्तरगया गापाका ४३ वर्षिय गणेशकुमार पोडेल, नौकुण्डका २८ वर्षिय विवश लोप्चन, नौकुण्डकै २७ वर्षिय सोनम तामाङ, नुवाकोटको विदुर नपा १३ का २० वर्षिय सुजन सुनार र सिन्धुलीका १६ वर्षिय दिपेश परियार घर फर्किएको त्रिशूली अस्पतालले जनाएको छ ।

रसुवाको आमाछोदिङमो गाउंपालिकाको गत्लाङवाट धुन्चे, कालिकास्थान हुदै काठमाडौं जाने क्रममा रहेको वा४ख ८४३५ नम्वरको यात्रुवाहक वस पासाङल्हामु मार्गको विदुर–वेत्रावति–कालिकास्थान सडकखण्डको वीचमा रहेको लहरेपौवामा विहीवार दिउ.सो दुर्घटनामा परेर २१ जना यात्रुहरु घाइते भएकोमा उद्धार गरि त्रिशूली अस्पताल ल्याएर उपचार गरिएको प्रहरी निरीक्षक श्रीकृष्ण वानियाले जानकारी दिए ।

प्रहरीले दुर्घटनाग्रस्त वसका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । दिउंसो भएको दुर्घटनामा पानी परिरहेका कारण घाइतेहरुको उद्धारका तथा यात्रुहरुको सामान संकलनका लागि दुई घण्टा समय लागेको थियो ।

गत्लाङदेखि काठमाडौं जादै गरेको सो यात्रुबस उक्त सडकमार्गको वीचमा रहेको उत्तरगया गाउँपालिका ५ लहरेपौवामा सडकदेखि दुईसय मिटर तल खसेर एउटा घरमा वजारिएर दुर्घटनामा परेको प्रहरी निरीक्षक पन्नालालप्रसाद यादवले वताए । दुर्घटनास्थल नुवाकोट र रसुवाको सिमाना वेत्रावतिवाट चार किलोमिटर दुरी उत्तरमा रहेको छ ।

भिरालो वाटोमा अटोलाई साइड दिने क्रममा वस भासिएर दुर्घटनामा परेको उक्त वस सडकमार्गदेखि दुई सय मिटर तल अर्को सडकमुनी रहेको घरमा गएर वज्रिदा घरमा कोही पनि मानिस नभएको यादवले वताए । उनका अनुसार दुर्घटनापछि स्थानीयवासी, सुरक्षाकर्मीले घाइतेको उद्धार गरि त्रिशूली अस्पताल पठाएका थिए ।

घाइतेको उद्धारका लागि नुवाकोटवाट एम्वुलेन्स तथा सुरक्षाकर्मी टोली पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइले वताए । वस दुर्घटना भएपछि नुवाकोटवाट एम्वुलेन्ससहितका सुरक्षाकर्मी पुगेपछि घाइतेहरुको उद्धारमा छिटो र सरलता पुगेको थियो ।

विपरित दिशावाट आइरहेको अटोलाई साइड दिने क्रममा सडक भासिएर दुर्घटना हुन पुगेको स्थानीय प्रत्यक्षदर्शीहरु वताउंछन् । दुर्घटनाग्रस्त बस घटनास्थलमा नै रहेको छ ।

घटनापछि उद्धारका लागि सर्वसाधारण, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी वलको १९ गुल्म नुवाकोट, २० गुल्म रसुवाको टोली परिचालन भएका थिए । वर्षात्को समयमा हतार नगरी होसियारीपुर्वक जिउधनको सुरक्षा दिएर यातायात सन्चालन गर्न ट्राफिक प्रहरीले आम सर्वसाधारणमा आग्रह गरेको छ ।














































