अध्यक्षसंग ज्येष्ठ नागरिक कार्यक्रम
बिदुर – नुवाकोटको पश्चिमी भेगमा रहेको तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ गरिएको छ । सामाजिक सुरक्षा भत्तासंगै स्वास्थ्य परिक्षण, औषधि वितरण गरिएको छ । तारकेश्वर गाउँपालिकाको सबै ६ वटै वडामा तेश्रो चरणको सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र परामर्शसहितको ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सम्पन्न भएको हो ।

तारकेश्वर गापाले सन्चालन गरेको चालु आव २०८२/०८३ को तेस्रो त्रैमासको सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरण, निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र परामर्शसहितको ’गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’सम्पन्न भएको हो । तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी (अबिरल)ले ज्येष्ठ नागरिकलाई सहज सेवा प्रदान गर्न सम्वन्धित शाखा तथा कर्मचारीहरुलाई दिएको निर्देशन अनुसार सञ्चालन गरिएको अध्यक्षसंग ज्येष्ठ नागरिक कार्यक्रम स्थानीयस्तरमा लोकप्रिय बनेको वताए । उनले सबै वडामा पांच दिनको अवधिमा वृद्धभत्ता वितरण, निःशुल्क स्वास्थ्यपरीक्षण, औषधी र परामर्श सहित ’गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सम्पन्न भएको वताए ।

अध्यक्ष अधिकारीले कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न र जनगुनासो नआउने गरी काम गर्न पञ्जीकरण शाखा र स्वास्थ्य शाखालाई निर्देशन दिएका थिए । समयमा सामाजिक सुरक्षा भत्ता वितरण नहुने र ज्येष्ठ नागरिकहरुले झन्झट बेहोर्नुपर्ने समस्याको अन्त्य गर्दै आफू निर्वाचित भएलगत्तै प्रत्येक ३/३ महिनामा वडा/वडामा उक्त कार्यक्रम गरी गाउंवासीलाई स्थानीयस्तरमै सुविधा प्रदान गरिएको वताए ।

‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ मा वृद्ध आमाबाबुहरूको निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र स्वास्थ्य परामर्शसँगै वृद्धभत्ता वितरण गर्ने कार्य गरिएको हो । तारकेश्वर गापाले महिला, युवा र ज्येष्ठ नागरिकलाई लक्ष्यित गरी सुरु गरेका विभिन्न कार्यक्रमहरूमध्ये सोे एक लोकप्रिय कार्यक्रमको रूपमा स्थापित भएको तारकेश्वर गापा कार्यालय दाङसिङले जनाएको छ ।
























































