चारसय जनाको स्वास्थ्य परिक्षण
बिदुर – सर्वसधाारणको सुविधाका लागि नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको खरानीटारमा स्वास्थ्य उपचार शिविर गरिएको छ । शिविरमा तीन गाउंपालिकाका सर्वसाधारणले सेवा लिएका छन् । तादी गाउँपालिका–३ खरानीटारस्थित तादी भ्यु एकेडेमी परिसरमा सन्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा तादी, पञ्चकन्या र दुप्चेश्वर गापाका आमसर्वसाधारणले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका छन् । शिविरमा विभिन्न रोगको परीक्षण तथा परामर्शका लागि २५ जनाको स्वास्थ्यकर्मी टोलीले झण्डै चारसय जनाको स्वास्थ्य परिक्षण गरेको थियो । स्वास्थ्य शिविरमा सवनायक अस्पताल प्रालिका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. उषा श्रेष्ठ खाँड, हाडजोर्नी विशेषज्ञ डा. राजेश चौधरी, फिजिसियन डा. सुशील बराल, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राम लामा तामाङ, डा. मनोज शाहलगायतका चिकित्सकसहितका स्वास्थ्य टोलीले उपचार सेवा प्रदान गरेका थिए ।

शिविरमा स्थानीय तीन गापाका तीनसय ६० जनाको स्वास्थ्य परीक्षण गरी रोगको पहिचान गर्दै आवश्यक औषधि निःशुल्क वितरण गरेको आयोजकले जनाएको छ ।स्थानीयवासीले विशेषज्ञ चिकित्सकको पहुँच गाउँमै पुगेपछि स्वास्थ्य परीक्षण गराउन सहज भएको प्रतिक्रिया दिएका छन्। विशेषगरी ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुने अवस्थाबीच यस्तो शिविरले स्थानीयलाई ठूलो राहत पुगेको सहभागीहरूको भनाइ रहेको छ ।

तादी भ्यु एकेडेमीको आयोजना, विनायक अस्पतालको प्राविधिक सहयोग र भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको सहजीकरणमा शिविर सन्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष केपी लामिछानेले जानकारी दिए । उनका अनुसार ग्रामीण समुदायमा स्वास्थ्य सुरक्षा तथा सचेतना अभिवृद्धि गर्दै विशेषज्ञ स्वास्थ्य सेवा सर्वसुलभ बनाउने उद्देश्यले शिविर आयोजना गरिएको हो । शिविरमा आयोजक तथा स्वास्थ्यकर्मीहरूको संयुक्त प्रयासले सयौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको कारण यस प्रकारका कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न सर्वसाधारणले आग्रह गरेका छन् ।













































