कुन कुन समय प्रयोग गर्ने सामाजिक सञ्जाल ?

लोकखबर
१२ कार्तिक २०७८, शुक्रबार १३:१४

अहिलेका किशोरकिशोरीको अत्यधिक समय ग्याजेट चलाउँदैमा बित्छ । ‘अफकम’ले १६ नोभेम्बर २०१६ मा प्रकाशित गरेको ‘अनलाइन ओभरटेक्स टीभी एज किड्स टप पास्ट टाइम’ लेखका अनुसार ११ देखि १५ वर्ष उमेर समूहका मानिसले दैनिक ६ देखि आठ घन्टासम्म ग्याजेटमा समय खर्चिन्छन् । उनीहरूले कम्प्युटरमा गर्ने होमवर्कको समय यहाँ जोडिएको छैन । अफकमले भनेको छ, बेलायती किशोरकिशोरीको सुत्नभन्दा धेरै समय ग्याजेट चलाउनमा खर्च हुन्छ ।

बच्चैदेखि ग्याजेट प्रयोग गर्न थालिन्छ । एरिक सिग्म्यानद्वारा लिखित ‘स्क्रिन डिपेन्डेन्सी डिसवर्डर्सः अ न्यु च्यालेन्ज फर चाइल्ड न्युरोलोजी’ लेखका अनुसार बेलायतका अधिकांश केटाकेटी चार वर्ष नपुग्दै ‘ट्याब्लेट’ चलाउन थाल्छन् ।

आफूभन्दा अघिल्लो पुस्ताले प्रयोग गरिरहेको सामाजिक सञ्जालमा नयाँ पुस्ता जोडिनु अचम्म होइन । यो स्वाभाविक हो । उदाहरणका लागि स्न्यापच्याटलाई हेरौं, यो किशोर९किशोरीमाझ एकदमै लोकप्रिय छ । सन् २०१७ मा भएका विभिन्न अनुसन्धानका अनुसार अमेरिकाका १३ देखि १८ वर्ष उमेर समूहका झन्डै ७० प्रतिशत तन्नेरीले स्न्यापच्याट चलाउँछन् । र, स्न्यापच्याटमा जोडिएकाहरू प्रायः सबै इन्स्टाग्राममा पनि जोडिएका छन् । बेलायतको तथ्यांक पनि लगभग उस्तै हो ।

अहिले तीन बिलियनभन्दा धेरै मानिस सामाजिक सञ्जालमा जोडिएका छन् । धेरैले एकभन्दा बढी ‘साइट’ चलाउँछन् । हाम्रो समय यस्तै सोसल साइटहरूमा खर्च भइरहेको छ । अमेरिकी किशोरकिशोरी दैनिक दुईदेखि तीन घन्टा समय सामाजिक सञ्जालमा खर्च गर्छन् ।

सामाजिक सञ्जालमा देखिएको यो सक्रियताले केही चिन्ता निम्त्याएको छ । स्क्रिनअघि धेरै समय बिताउँदा स्वास्थ्यमा पर्नसक्ने असरहरूबारे जान्न अनुसन्धानकर्ताहरू उत्सुक छन् । उनीहरूका अनुसार ग्याजेटको अत्यधिक प्रयोगले निद्रा तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ । नाटकीय रूपमा बढिरहेको सामाजिक सञ्जालको प्रयोगले समाजमा पर्नसक्ने असरबारे ब्रायन प्रिम्याकले अध्ययन गरे । ‘युनिभर्सिटी अफ पिट्सबर्ग’स्थित ‘मिडिया, प्रविधि र स्वास्थ्य केन्द्र’का निर्देशकसमेत रहेका ब्रायनले जेसिका लेभेन्सनसँग मिलेर प्रविधि र मानसिक स्वास्थ्य बीचको सम्बन्धमाथि अनुसन्धान गरेका थिए । उनीहरूले यसको सकारात्मक र नकारात्मक दुवै पाटो केलाए ।

सामाजिक सञ्जाल र डिप्रेसन बीचको सम्बन्धलाई जोड्दा यसको द्वैध प्रभाव देखियो । यसले डिप्रेसनलाई बढावा दिनुका साथै र कमजोर तुल्याउन पनि भूमिका खेल्ने रहेछ । दुई हजार मान्छेमा गरिएको एउटा सर्वेक्षणबाट निस्केको नतिजा आश्चर्यजनक छ । सामाजिक सञ्जालले डिप्रेसन, तनाव र एक्लोपन महसुस गराउने उक्त सर्वेक्षणको निष्कर्ष छ । यो सर्वेक्षण ‘द एसोसिएसन बिटविन सोसल मिडिया युज एन्ड स्लिप डिस्टर्बेन्स अमोङ योङ एडल्टस्’ शीर्षकमा ‘साइन्स डाइरेक्ट डटकम’ले सन् २०१६ मा प्रकाशित गरेको छ ।

‘तपाईं भन्नुहोला कि सामाजिक सञ्जालमा मानिसहरू साथीसँग कुराकानी गरिरहेका छन्, हाँसिरहेका छन्, इमोजी पठाइरहेका छन् । तपाईंलाई लाग्छ होला, उनीहरूसँग सामाजिक पुँजी छ । तर, त्यस्ता मानिसले एक्लोपनको महसुस गर्ने रहेछन्’, प्रिम्याक भन्छन् ।

एउटा अस्पष्ट कुरा हो, डिप्रेसनले सामाजिक सञ्जालको प्रयोग बढाउँछ कि सामाजिक सञ्जालको प्रयोगले डिप्रेसन बढाउँछ रु प्रिम्याकका अनुसार दुइटै प्रक्रिया अघि बढ्न सक्छ । डिप्रेस्ड मान्छेले अत्यधिक सामाजिक सञ्जालको प्रयोग गर्छन् । र, यसले मानसिक स्वास्थ्यमा असर पुर्‍याउँछ ।

सामाजिक सञ्जालको प्रयोगबाट आउने असरहरू अरू थुप्रै छन् । सन् २०१७ मा करिब १७ सय जनामा एउटा सर्वेक्षण गरियो । प्रिम्याक र उनका साथीहरू मिलेर गरेको उक्त सर्वेक्षणले सामाजिक सञ्जाल प्रयोग गर्ने समयलाई ध्यान दिएका छन् । सुत्नुभन्दा ३० मिनेट अघिदेखि ग्याजेटको प्रयोग गर्नु हुँदैन । ग्याजेटबाट आउने ‘लाइट’ले असर गर्छ । निद्रा नपर्ने समस्या आउँछ । सुत्नुअघिको ३० मिनेट प्रविधिबाट टाढा बस्नु एकदमै फाइदाजनक छ ।

शारीरिक अभ्यासले निद्रा लगाउन सहयोग पुर्‍याउँछ भनेर हामीलाई थाहा भएकै कुरा हो । ग्याजेटमा धेरै समय बिताउँदा शारीरिक अभ्यास पुग्दैन । दिउँसोभरि तपाईं ग्याजेट चलाएरै बस्नुहुन्छ । ‘तपाईंको हातमा स्मार्ट फोन छ भने त्यहाँ शारीरिक अभ्यास हुँदैन । स्विमिङ गरेजस्तो हातखुट्टा त चलाउनु पर्दैन, ग्याजेट चलाउँदा । तपाईंपछि आउने पुस्ताले पनि शारीरिक अभ्यास गर्न जान्दैन’, बालस्वास्थ्य विज्ञ एरिक सिग्मन भन्छन् । यसरी, ग्याजेटले तपाईंको निद्रामा अवरोध पुर्‍याउँछ ।

ग्याजेटले निद्रामा कसरी समस्या ल्याउँछ भन्ने बारेमा अरू पनि उदाहरण दिन सकिन्छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले डिप्रेसन निम्त्याउँछ । यसले मान्छेमा तनाव थप्छ । र, यसको असर भनेको निद्रामै पर्ने हो । सामाजिक सञ्जालको स्टाटस र कमेन्ट हेरेर तपाईं आफूलाई अन्यसँग तुलना गर्न थाल्नुहुन्छ । आफू कमजोर छु कि भन्ने भावना आउन सक्छ तपाईंमा । त्यो भावनाले तपाईंलाई सुत्नै दिँदैन ।

अनिद्राले विभिन्न किसिमका समस्या आउन सक्छन् । एउटा समस्याले अरू समस्या पनि निम्त्याउँछ । डिप्रेसन, तनाव, अनिद्राजस्ता समस्याबाट तपाईं ग्रसित हुन सक्नुहुन्छ । यसले गर्दा मानसिक स्वास्थ्यमा समेत असर पर्न जान्छ ।

अनिद्राबाट आउने समस्याहरू थुप्रै छन्— मुटुको रोग, मोटोपना, डाइबेटिज, सुस्तता, अध्ययनमा कमजोरी आदि । यस्ता रोगको लिस्ट अझै बढ्न सक्छ । तन्नेरीहरूले निद्रा लगाउन विभिन्न औषधिसमेत प्रयोग गर्छन् । युनिभर्सिटी अफ पिट्सबर्ग स्कुल अफ मेडिसिन’की जेसिका लेभेनसन भन्छिन्, ‘सामाजिक सञ्जालको अत्यधिक प्रयोग भइरहेको छ । हामीले यसका सकारात्मक, नकारात्मक पक्षमाथि प्रशस्त छलफल गर्न जरुरी छ । शिक्षक, परिवारले आफ्ना नानीहरूलाई यसबारे सोध्न जरुरी छ ।

हामीले सामाजिक सञ्जालको प्रयोगलाई घटाउन जरुरी छ । सामाजिक सञ्जाल चलाउने खास समय तोक्नुपर्छ । सिग्मन भन्छन्, ‘तोकेको समयभन्दा अरू बेला नचलाउने । नानीहरूलाई पनि त्यही भन्ने । घरभित्रै पनि सामाजिक सञ्जाल प्रयोग गर्न पाउने र नपाउने ठाउँ छुट्याउनु पर्छ । जिन्दगीका हरेक पाटोमा सामाजिक सञ्जाललाई जोड्न आवश्यक छैन ।’ विशेष गरी किशोरकिशोरीले यो कुरा थाहा पाउनुपर्छ ।

प्रिम्याक पनि यो कुरामा सहमत छन् । सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउनुपर्छ भन्ने उनको तर्क हैन । तर, कति चलाउने भन्ने सीमा भने राख्नुपर्छ । ‘हाम्रो आँखा जति बेला पनि सामाजिक सञ्जालको भित्तोमै टाँसिनु हुँदैन’, उनले भने । बीबीसी

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*