सहकारीकर्मीलाई क्षमता विकास कार्यक्रम

लोकखबर
१२ बैशाख २०८२, शुक्रबार २१:४६

विदुर–सहकारी सदस्यहरुको आर्थिक सुरक्षामा जोड दिदै नुवाकोटको ककनीमा सहकारी संचालकलाई क्षमता विकास तालिम प्रदान गरिएको छ । ककनी गाउँपालिकाको सामाजिक विकास शाखाले गापाभित्र रहेको सहकारी संस्थाको पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरेको हो ।
जिल्ला सहकारी संघ र सहकारी ककनी गाउँपालिका समन्वय उप–समितिको सहयोगमा तालिम प्रदान गरेको हो । तालिमका सहभागीलाई सहकारी संस्थाहरुको वर्तमान अवस्था, आर्थिक सुरक्षा, तहगत रुपमा सहकारी संस्थाको विवरण, संस्था वा संघको वर्र्गीकरण, नयाँ ऐन, सहकारी ऐन २०७४ मा उल्लेखित विषयवस्तुको बारेमा अधिवक्ता रबिन्द्र काप्रीले जानकारी गराएका थिए ।
ककनी गापााद्वारा निर्माण गरिएको सहकारी ऐन २०७५ अनुसार स्थानीय तह क्षेत्राधिकारको बारेमा प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले जानकारी गराएका थिए । सामाजिक विकास शाखाका अधिकृत सुनील आचार्यले सहकारी सिद्धान्त र व्यवहार, नेपालमा सहकारीको अवस्था, ककनी गाउँपालिकामा रहेको सहकारीको अवस्था, समस्या, चुनौती, समस्या र समाधानको विषयलाई औल्याएका थिए ।
ककनी गापा भित्रका ५९ वटा सहकारी मध्ये हाल करिव २० वटा सहकारी मात्रै अद्यावधिक रहेको र बाँकी सहकारीहरु नाम मात्रैको भएकोले निष्कृय सहकारीहरुलाई सक्रिय गराउन आग्रह गरिएको छ । ककनी गापाभित्र संचालित सहकारीहरुबाट ठगीमा परेको उजुरी न्यायिक समितिमा परेकोले त्यसको छानविन गरी कारबाहीको दायरामा ल्याउने कार्यक्रमको प्रमुख अतिथि ककनी गापा उपाध्यक्ष मिठ्ठुमाया तामाङले बताइन् ।
सक्रिय र निष्कृय सहकारीको पहिचान गरी खारेज गर्न अथवा एकअर्काबीच गाभेर भए पनि संचालन गर्न निर्देशन दिइएको छ । अध्ययन गरेर प्रकृया अनुसार काम गर्ने उपाध्यक्ष तामाङको भनाई छ ।
ककनीका जनताहरु सबैभन्दा बढी कृषि पेशामा आवद्ध रहेको कारण सहकारीहरुले किसानहरूको बचत तथा लगानीलाई प्रथमिकता दिनुपर्ने, वचतकर्ताको वचत कसरी फिर्ता गर्ने नियमन गर्ने, वचतको नाममा रकम हिनामिना गरीएका सहकारीहरू भए वडाले नै गाउँपालिकाको सम्पर्कमा ल्याउने तालिममा सहभागी वडाध्यक्षहरुले बताएका छन् । बचत उठाउने र उठाएको रकमबाट ऋण प्रवाह बाहेक अरू उत्पादन मुलक काम गर्न सहकारीले नसकेको वडाध्यक्षहरुको गुनासो रहेको छ ।
सहकारीहरुले कानून विपरित कुनै पनि कार्य गर्न नहुने र ऐन नियममा रहि सदस्यहरुको क्षमता विकास, आर्थिक उपार्जन तथा सिपमुलक गतिविधि संचालन गराउनको लागि जिल्ला सहकारी संघ ककनी गाउँपालिका समन्वय उप–समितिले काम गरिरहेको अध्यक्ष उत्तम घिमिरेको भनाई छ । स्थानीय तहले नीति तथा कार्यक्रम बनाएर सहकारीहरुको प्रभावकारी रुपले अनुगमनका गतिविधि संचालन गरेर बास्तविकता बाहिर ल्याउनु जरुरी रहेको जनाउंदै अध्यक्ष घिमिरेले गाउँपालिका समन्वय उप–समिति गाउँपालिकासँग सहकार्य र समन्वय गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*