आक्रमण नरोके रुसको पतन हुने ट्रम्पको चेतावनी

युक्रेनमाथि आक्रमणको विरोध
लोकखबर
२०८२ जेष्ठ १२, सोमबार २३:१४

विदुर– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि आक्रमणको विरोध गरेका छन् । उनले रुसलाई ’सन्की’ भन्दै आलोचना गरे र थप प्रतिबन्धको चेतावनी दिए ।
ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीको पनि आलोचना गरे । राष्ट्रपति ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका हुन् । उनले पूरै युक्रेन रुसमा समाहित गर्ने उद्देश्य राखेर पुटिनले आक्रमण गरिरहेको भन्दै ट्रम्पले यदि त्यसो गरे रुसको पतन हुने चेतावनीसमेत दिएका छन् ।
रुसले पछिल्लो पटक युक्रेनमा गरेको आक्रमणबाट एकैदिनमा पत्रकारहरुसहित ३० जनाको मृत्यु भएको विवरण आइरहेका छन् ।
अहिलेसम्मकै भिषण भनिएको सोे आक्रमणको सन्दर्भमा ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘मैले सधैं भन्दै आएको छु कि पुटिनले युक्रेनको एउटा टुक्रा मात्र होइन, पूरै युक्रेन चाहन्छन् । सायद अहिले यो पुष्टि हुँदै गएको छ । तर यदि उनले यस्तो चाहना राखेमा रुसको पतन हुनेछ ।’
ट्रम्पले पुटिनलाई ‘सन्की’को संज्ञा दिँदै थप लेखेका छन्, ‘पुटिनसँग मेरो सधैं राम्रो सम्बन्ध रह्यो । तर, अहिले उनलाई केही भएको छ । उनले विनाकारण धेरै मानिसलाई मारिरहेका छन् । मैले केवल सैनिकको कुरा गरिरहेको छैन, विनाकुनै कारण युक्रेनका शहरहरुमा मिसाइल र ड्रोन प्रहार गरिरहेका छन् ।’
रुसले युक्रेनमाथि आक्रमण नरोके अझै धेरै प्रतिबन्ध लगाउने चेतावनी पनि ट्रम्पले दिएका छन् । ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीको पनि आलोचना गरेका छन् ।
जेलेन्सीका अभिव्यक्तिले उनको देशको भलाइ नहुने ट्रम्पको भनाइ छ । ट्रम्पले लेखेका छन्, ‘जेलेन्स्कीले जसरी कुरा गर्छन्, त्यसबाट उनको देशको भलाइ हुँदैन । उनको मुखबाट निस्किने हरेक कुराले समस्या पैदा गर्दछ, मलाई यो मन पर्दैन, यसलाई रोक्नु नै राम्रो हुन्छ ।’
पछिल्लोपटक रुसले युक्रेनमा आक्रमण गरेपछि जेलेन्स्कीले अमेरिका चुप लागेर युक्रेनमाथि आक्रमण गर्न रुसलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका थिए ।(एजेन्सीहरुको सहयोगमा)


सर्वाधिक रुचाइएको