अहमदावादमा विमान दुर्घटनाग्रस्त

विदुर–भारतको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । अहमदाबाद जोन–४ का डीसीपी कानन देसाईले उक्त क्षेत्रमा विहीवार विमान दुर्घटना भएको पुष्टि गरेका छन् ।
दमकलहरू दुर्घटनास्थलमा पुगेर विमानमा लागेको आगो निभाएका थिए । अहमदाबाद विमानस्थलका अनुसार दुर्घटना लगत्तै विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएको थियो । त्यसपछि अनुसन्धानको लागि सम्पूर्ण टोली घटनास्थलमा पठाइएको थियो ।
यद्यपि बाहिर आएका तस्बिरहरूमा धुवाँको बाक्लो बादल देख्न सकिन्थ्यो । अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले समाचार एजेन्सी पीटीआईलाई भने, ‘विमानस्थल नजिकै मेघनानगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो ।’
अग्नि नियन्त्रक जयेश खारियाले भने,‘विमान दुर्घटनाग्रस्त भएपछि आगो लागेको थियो । आगो निभाउन दमकलका गाडीहरू पठाइएको थियो ।’
एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा ६१ जना विदेशी नागरिक रहेको जनाइएको छ । जसमा बेलायतका ५३, पोर्चुगलका ७ र एक जना क्यानडाका नागरिक रहेको भारतीय अधिकारीहरूलाई उद्यृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् ।
विमानमा १६९ जना भारतीय नागरिक र १२ जना क्रु मेम्बर रहेको बताइएको छ । गुजरातको अहमदाबाद विमानस्थलबाट लन्डनको लागि उडान भरेको उक्त एयर इन्डिया ७८७ विमान केही मिनेटमै मानव बस्तीमा खसेको थियो ।
विमान चिकित्सकहरू बस्ने होस्टेलमा खसेको त्यहाँको प्रहरी अधिकारीले बताएका छन् । उक्त होस्टेलमा ५०–६० जना बस्दै आएको बताइएको छ ।
विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानी पनि सवार रहेको बताइएको छ । एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ ।
उसले लेखेको छ, ‘अहमदाबाद–लन्डन ग्याटविक उडान गर्ने उडान नम्बर एआई १७१ आज अर्थात् १२ जुन २०२५ मा दुर्घटनामा परेको हो ।’ गुजरातको अहमदावादबाट बेलायतको लण्डन जाने क्रममा दुर्घटनामा परेको विमानको सुरक्षालाई लिएर पहिलेबाटै प्रश्न उठेकोे छ ।
एआई १७१ एयर इन्डियाको विमानले २४२ जना यात्रु बोकेको थियो । यो बोइङ ७८७–८ ड्रिमलाइनर विमान हो, जुन अहमदाबादबाट लन्डनका लागि उडेको थियो ।
एयर इन्डियाको उडान नम्बर एआई–१७१ को विमानले बिहीबार दिउँसो स्थानीय समयअनुसार १ वजेर ३८ मिनेटमा उडान भरेको थियो । यो विमान उडेको दुई मिनेटपछि अर्थात् दिउँसो १ः४० बजे दुर्घटना भएको जनाइएको छ ।
विमान दुर्घटना अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक मेघानी क्षेत्रमा भएको हो । एयर इन्डियाले जानकारी दिएको अनुसार अहमदावादबाट लण्डनको ग्याटविकका लागि उडान भरिरहेको उडान नम्बर एआई १७१ विमान दुर्घटनामा परेपछि यसको सुरक्षामा निकै प्रश्न उठेको छ ।
स्थानीय बासिन्दाले आकाशमा कालो धुवाँ देखेपछि घटना कति गम्भीर भन्ने खुलेको थियो । वाहिर आएका केही भिडियोमा विमानले उचाइ लिन नसक्दै बजारिएको देख्न सकिन्छ ।
उडेपछि यो विमान उचाई लिन नसक्दै एयरपोर्टको पर्खालमा बजारिएर आगलागी भएको हो । एएनआईका अनुसार विमानस्थल क्षेत्रबाट घाइतेहरूलाई अस्पताल लगिएको देखिएको थियो ।
दुर्घटना लगत्तैठूलो संख्यामा एम्बुलेन्सहरू घटनास्थलमा पुगेका थिए । प्रहरीले उक्त क्षेत्रमा ट्राफिक डाइभर्ट गरेको थियो ।
एयर इन्डियाका प्रवक्ताले बताएअनुसार दुर्घटनाको विवरण संकलन भइरहेको छ । यसबारे जानकारी कम्पनीको एक्स ह्यान्डलमार्फत सार्वजनिक गरिने उनले बताएका छन् ।
दुर्घटनामा परेको यस जहाजमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ जना यात्रु सवार थिए । दुर्घटनापछि आकाशमा ठूलो धुवाँको मुस्लो देखिएको थियो । समाचार अनुसार विमान उडेलगत्तै विमानस्थको कार्गो क्षेत्रमा खसेको हो ।
विवादमा थियो बोइङ ७८७–८ ड्रिमलाइनर
दुर्घटनामा परेको विमान सुरक्षालाई लिएर पहिलेदेखि नै विवादमा थियो । यो बोइङ ७८७ ड्रिमलाइनर उत्पादनको क्रममा धेरै समस्या आएको थियो ।
विशेषगरी बाहिरबाट पार्टपूर्जा लगेर जडान गरिँदा अर्डर अनुसार आपूर्तिमा पनि समस्या भएको थियो । त्यसो हुनुमा प्राविधिक कारण भनिएको थियो ।
यस विमानका विभिन्न भागमा गुणस्तरको कमी देखिएको थियो । जसका कारण यसअघि नै बोइङको यस विमानलाई लिएर सुरक्षा चिन्ताहरू उत्पन्न भएका थिए ।
नियामक निकायहरूले पहिले नै सुरक्षा समस्या देखाएका थिए । नियामक निकायहरूले यस विमानमाथि अनुसन्धानसमेत गरेका थिए । उनीहरूले बोइङका उत्पादनप्रति प्रश्न पनि उठाएका थिए ।
यही विवादका कारण बोइङलाई ठूलो आर्थिक घाटा पनि भएको थियो, त्यसका कारण कम्पनीको छविमा पनि नराम्रो असर परेको थियो । उत्पादन प्रक्रियामा समस्या आउनुमा यसका सामानहरू बाहिरबाट मगाइन्थ्यो ।
बोइङले ७८७ ड्रिमलाइनरको उत्पादनमा ‘ग्लोबल सप्लाई चेन’ अपनाएको थियो, जसमा विमानका विभिन्न भागहरू अमेरिका बाहिर बनाइन्थे । यसले गुणस्तरमा एकरुपता अभाव, आपूर्तिमा ढिलाइ र समन्वय अभावका समस्याहरू निम्त्याएको थियो ।
उत्पादनका क्रममा विमानका केही पाट्र्स उचित परीक्षण नगरी जडान गरिएको भन्ने आरोप पनि लागेको थियो । यस विमानको फ्युसेलेजमा स–साना चिराहरू पनि देखिएका थिए ।
त्यसैगरी ब्याकअप इलेक्ट्रिक पावर युनिटमा खराबी पनि भेटिएको थियो । उता कार्बन फाइबर संरचनामा पनि समस्या देखिएको थियो ।
विमानको ब्याट्री सिस्टम (लिथियम आयन) मा आगलागीको घटना पनि भएको थियो । जसले सन् २०१३ मा विश्वभरका ड्रिमलाइनरहरू अस्थायी रूपमा ग्राउन्डेड (उडान निषेध) गरिएका थिए ।
एफएए (फेडेरल एभियशन एडमिनिस्ट्रेशन), ईएसए (युरोपिय युनियन एभियशन सेफ्टी एजेन्सी) लगायतका निकायहरूले बोइङको यो संस्करणका विमानमा कडा जाँच गरेका थिए ।
सन् २०१९ पछि विशेष रूपमा साउथ क्यारोलिना प्लान्टमा बनेका ड्रिमलाइनरहरूमा ठूलो मात्रामा समस्या देखिएपछि बोइङमाथि थप कडाई गरिएको थियो । यी समस्याका कारण बोइङलाई अर्बौं डलरको घाटा भयो । ग्राहक (एयरलाइन्स) हरूले उडान रोक्ने, सम्झौता रद्द गर्ने र विमान फिर्ता पठाउने निर्णय पनि गरे ।
यसले बोइङको ब्रान्डमा ठूलो क्षति भयो । जुन अझै पूर्णरूपमा पुनःस्थापित भइसकेको छैन । भारतमा फेरि अर्को विमान दुर्घटना भएपछि बोइङलाई अर्को धक्का लागेको छ ।
बोइङ ७८७–८ ड्रिमलाइनर प्रविधि र डिजाइनको दृष्टिले उन्नत विमान भनिएको थियो । तर, यसको निर्माण प्रक्रियामा भएको हतार र कम्पनीको अतिव्यावसायिक प्राथमिकताकाले धेरै विवाद निम्त्यायो ।
अहिले बोइङले सुधारका प्रयास जारी राखेको छ । तर, सुरक्षा र गुणस्तर नियन्त्रणसम्बन्धी प्रश्नहरू अझै चर्चामा छन् । भारतमा अर्को जहाज खसेसँगै बोइङमाथि झन् प्रश्न उठाएको छ ।
भारतको गुजरातमा भएको एयर इन्डियाको उक्त हवाई जहाज दुर्घटनामा कम्तीमा १२० जनाको मृत्यु भएको आशंका गरिएको छ । भारतीय सञ्चारमाध्यममा आएका समाचारअनुसार १२० भन्दा बढी मानिसको हताहती भएका समाचार छन् ।
लन्डनका लागि अहमदावादस्थि सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो उडेको एयर इन्डियाको जहाज उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त विमान सहरी क्षेत्रमै खसेकाले पनि क्षतिको जोखिम अझै बढी रहेको जनाइएको छ ।
लण्डन जाँने क्रमामा रहेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको आशंका गरिएको छ । “अहमदाबादको त्रासदीले हामीलाई स्तब्ध र दुःखी बनाएको छ ।
एयर इन्डियाको उडान नम्बर १७१ उडेको केही क्षणमा नै दुर्घटनाग्रस्त भएको हृदयविदारक घटनाले विश्वलाई नै स्तब्ध बनाएको छ,” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् । अहमदावाद शहरका प्रहरी आयुक्त जीएस मलिकले एएफपीसँग भने, “दुर्घटनामा कोही पनि बाँच्न सफल भएको जस्तो देखिएको छैन ।”
उनले अगाडि भने, “विमान आवासीय र केही कार्यालय भएको क्षेत्रमा खसेकाले हताहत हुनेको सङ्ख्या पनि बढी हुन सक्छ ।” घटनाबारे नाम नबताउने शर्तमा एक स्थानीयले भने, “हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ, हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो तल्लाबाट हामफालेको देखेका हौँ, विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो ।”
विमानमा दुई चालकसहित १० चालक दलका सदस्य गरी २ सय ४२ जना सवार रहेको भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । एयर इन्डियाका अनुसार लण्डन ग्याटविकका लागि उडेको विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडियाली यात्रु सवार थिए ।
बेलायती प्रधानमन्त्री केइर स्टार्मरले दुर्घटनाका दृश्यहरू ‘विनाशकारी’ देखिएको ‘गहिरो शोकको घडीमा’ पीडित यात्रु र उनीहरूका परिवारहरूलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी एक सन्देशमा भनेका छन् ।
नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानले खतराको सूचक ‘मे डे’ कल जारी गरेको थियो र उडान भरेलगत्तै विमानस्थलको परिधिबाहिर दुर्घटनाग्रस्त भएको थियो । भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादमा करिब ८० लाख मानिसको बसोबास छ र व्यस्त विमानस्थल घनाबस्तीले घेरिएको छ ।
स्थानीय पुनम पटनीले एएफपीसँग भने, “जब हामी घटनास्थलमा पुग्यौँ । त्यहाँ धेरै शवहरू थिए र अग्निनियन्त्रकहरूले आगो निभाइरहेका थिए ।”
“धेरै शव जलेर चिन्न नसकिने अवस्थामा भेटिएका छन्,” उनले भने । भारतको राष्ट्रिय सुरक्षा निकाय ‘सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स’ले सार्वजनिक गरेको तस्वीरमा विमानको पछाडिको भाग एउटा भवनमा ठोक्किएको देखिएको छ । (एजेन्सीहरुको सहयोगमा)