दिवंगत पितृको प्रतिमासहित घरघरवाट निकालियो गाईजात्रा

विकृतिका विरुद्ध हास्यव्यङ्ग्य, हजारौंको सहभागिता
लोकखवर विशेष संवाददाता
२०८२ श्रावण २५, आईतवार १८:३४

बिदुर– दिवंगत पितृको प्रतिमा निकालेर नुवाकोटमा गाईजात्रा पर्व सम्पन्न भएको छ । नेवार समुदायको उल्लेख्य वसोवास रहेको स्थानहरुमा आइतवार गाईजात्रा गरिएको हो ।

दिवङ्गत व्यक्तिको सम्झनामा नेवार समुदायको घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको गाइजात्रा नुवाकोटको वट्टार, त्रिशूली, देवीघाट, वेत्रावति, ढिकुरे, अशोकवाटिका, खरानीटार, छहरे, कोलोनीलगायतका स्थानमा मनाइएको छ । गाइजात्रा सवै समुदायका मानिसहरुले रुचिपुर्वक सहभागिता जनाएका छन् ।

गाइजात्रामा दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ । गाईजात्रा पर्वका अवसरमा नुवाकोटका विजभिन्न स्थानमा रहेका नेवार समुदायले टोलटोलबाट गाई निकालेर प्रतिमा, झांकी तथा गाई नाच प्रदर्शन गर्दै गाइजात्रा मनाइएको छ ।

जात्राको आकर्षणका रूपमा रहेको गाईको प्रतिमा नांचसँगै हनुमान नांच, जङ्गल नांच र मनोरन्जनात्मक नांच, बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ । यसका साथै विभिन्न स्थानमा लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाचसमेत प्रदर्शन गरिएको छ ।

कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ । विभिन्न घरबाट निकालिएको जात्रा वजार परिक्रमा गराउने गर्दछन् । गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ ।

हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने एवं मृतआत्माहरुले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको नेवार समुदायका वुढापाकाहरुको भनाई छ । गाईलाई वजार परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।

पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ । घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको भन्ने जनविश्वास रहेको छ ।

हास्य प्रदर्शनमा वडाध्यक्षः
सदाझै गाइजात्रामा विशेष प्रस्तुती दिदै आएका युवा सामाजिक अगुवा तथा विदुर नगरपालिका ४ का वडाध्यक्ष नीलमवावु ढुंगेलले यस वर्ष पनि बट्टारवजारमा आफ्नो विशेष प्रस्तुती दिएका छन् । उनले यस पटक विकासप्रेमी नेताको रुपमा हास्यरुपमा आफ्नो प्रदर्शन दिए ।

ढुंगेलले कहिले वृद्ध, कहिले गाउंले मुखिया, कहिले सर्वसाधारण त कहिले परिवार पीडित देखाउंदै विशेष प्रदर्शन गर्दै आएका छन् । प्रत्येक वर्षको गाइजात्रामा विशेष प्रहसन गर्दै आएका ढुंगेलले डेढ दशकदेखि आफ्नो प्रस्तुती दिदै आएका छन् ।

उनले यस पटक विकासप्रेमी नेता खालेनको नाममा सांकेतिक प्रदर्शन गरे । उनले सडकमा आफ्नो कलात्मक झांकीसहित आफुलाई खालेनको रुपमा उभ्याउंदै विभिन्न प्रहसन गरे ।

उनको प्रहसनलाई वट्टारवजारमा सहभागी जात्रालुहरुले निकै रुचाए । उनले आफुलाई संस्कृतीको संरक्षण, कलाको सम्वद्र्धन र यसको सहभागितामा रुचि रहेको वताए ।

यसका साथै नुवाकोटकै विदुर नपा २ का वडाध्यक्ष दीपक कायस्थ पनि आइतवार गाएजात्रामा प्रहसन गर्दै सहभागी भए । उनले गुण्डा नाइकेको भेषमा आफुलाई बट्टारवजारमा जात्रामा पहिचान दिए ।

वडाध्यक्ष कायस्थलाई उनका छोरा दियान कायस्थ भने भगवान कृष्णको भेषमा प्रस्तुत भए । वडाध्यक्षका वावुुछोराले समाजमा सकारात्मक तथा खराव प्रवृत्तिका मानिसहरु पनि हुन्छन, सचेत रहि जविनयापन गर्नु पर्ने सन्देश दिएको वडाध्यक्ष दीपक कायस्थले वताए ।

प्राचिन चिनारीको रुपमा रहेको नेवारी संस्कृतीको महत्व वोकेको गाईजात्रामा विकृति र विसंगती विरुद्ध विभिन्न कार्यक्रम गरिएको हो । विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रालाई लिइने गरिएको छ ।

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ साल पुस १ गते देशमा २००७ सालको प्रजातन्त्रको ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको थियो ।

विकास र परिवर्तनका लागि सकारात्मक संस्कृतिको अनुसरण गर्नुपर्ने सबैको दायित्व बनेर आएको छ । गाइजात्रामा विकृति तथा विसंगती विरुद्ध प्रदर्शन गर्ने परम्परा रहिआएको छ ।

‘गाईजात्रा’ पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाइजात्राका अवसरमा संघीय सरकारले काठमाडौँ उपत्यका र बागमती प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको हो । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित तत्कालीन राजदरबार भएर जानुपर्ने चलन अहिलेसम्म पनि कायमै छ ।
नुवाकोटसहित देशका विभिन्न सहरमा गाईजात्रा मनाइने गरिएको छ । यसको विशेष रौनक देखिने गर्छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने गाइजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नांचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । नेवार समुदायको मुख्य भएपनि गाइजात्रालाई अन्य समुदायलेसमेत साथ दिदै आएका छन् ।

 

 

 

 

 


सर्वाधिक रुचाइएको