सहिद रुद्र स्मृति बाटिका, मकवानपुरगढी

रुद्र स्मृति बाटिका, मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको छ । हेटौंडाबाट ५ किलोमिटर पूर्व र चौघडाबाट करिब २ किलो मिटर उत्तरतर्फको माथिल्लो बस्ती भएको क्षेत्र मकवानपुरगढी गाउँपालिकाको, मक्रान्चुली, कालिखोलास्थित शान्ति चोकमा बाटिका स्थापना गरिएको छ । तत्कालीन जनयुद्दका शहिद रुद्रबहादुर पाख्रीनको स्मृतिमा यो बाटिका निर्माण गरिएको हो ।
यो बाटिका वि.सं. २०६३ साल मंशिर ९ गते पहिलो पटक ७० जना व्यक्तिहरुको भेलाले ‘रुद्र स्मृति उद्यान’ निर्माण गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा वि.सं.२०६३ साल फाल्गुण ८ गते दर्ता नम्बर १०६२ मा दर्ता भयो । अहिले बाटिकाको क्षेत्रफल करिब ४० रोपनीमा मनमोहक बनाइएको छ । संस्थाको अहिले आफ्नै व्यवस्थित भवन, शौचालय र स्नानघर, पिकनिक स्थल, प्रतिक्षालय, चौचारो, सहिद रुद्रको शालिक लगायतका संरचना रहेका छन् ।
वि.सं. २०१९ साल साउन २७ गते बाबु समनमान पाख्रीन र आमा माया पाख्रीनको ज्येष्ठ सुपुत्रका रुपमा रुद्रबहादुर पाख्रीनको मकवानपुरको गोगनेस्थित कालीखोला बाङ्गे भन्ने ठाउँमा उनको जन्म भएको थियो । गोगनेबाट वि.संं.२०२० सालमा पाख्रीनको परिवार मकवानपुरगढीमा आएको हो । तीन कक्षासम्म मकवानपुरगढीस्थित भानु उच्चमाविबाट अध्ययन गरेका रुद्रले पालुङ्, मच्छेडाँडा स्थित मामाघरमा बसेर ६ कक्षासम्म अध्ययन गरे । पछि उनले ८ कक्षामा हेटौंडास्थित भुटनदेवी माविमा भर्ना भए तर पढाईलाई विविध घरायसी समस्याका कारण अगाडी बढाउन सकेनन् । विभिन्न राजनीतिक पार्टीमा आबद्द हुदै उनी तत्कालीन माओवादी पार्टीमा लागे । राजनीतिक कार्यक्रममा सहभागिताका लागि जादै गर्दै तत्कालीन शाही नेपाली सेनाले वि.सं.२०५९ साल पुष २८ गते उनको हत्या गर्यो । उनै मनकारी नेता रुद्रको स्मृतिमा यो बाटिका निर्माण गरिएको हो ।
सहिद रुद्रको स्मृतिमा हरेक वर्ष यहि वाटिकामा कार्यक्रम आयोजना हुदै आएको छ । रुद्रको सामाजिक राजनीतिक अभियान तत्कालीन स्थानीय नेताहरुले समेत रुचाउथे । फरक पार्टीका नेता भएपनि सबैको भलो चिताउने नेता भएकाले रुद्र सबैका लागि प्रिय लाग्थे । उनकै सम्झनामा मकवानपुरगढीमा निर्माण गरिएको बाटिकालाई स्थानीय सरकारले पनि संरक्षणका लागि चासो देखाइरहेको छ । जनताको मुक्तिको लागि युद्घमा होमिएका व्यक्तित्वको स्मृतिमा निर्मित बाटिका संरक्षणका लागि सबैको साथ आवश्यक छ ।