महिनावरीका बेला ध्यान दिनुपर्ने कुरा
महिनावरीलाई नछुने भएको पनि भनिन्छ । महिनावारी हुँदा योनीबाट ३ देखि ४ दिन सम्म र कसैकसैको २ देखि ८ दिनसम्म पनि रगत बग्दछ । यो व्यक्तिपिच्छे फरक हुन सक्छ । अनि महिनावारी शुरु हुने समय पनि सबैको एउटै हुदैन । सामान्यतया : ८ देखि १६ वर्षभित्र कुनै पनि समयमा महिनावारी सुरु हुनसक्छ । यदि यो समयमा पनि महिनावरी भएन भने सम्बन्धित चिकित्सकको सल्लाह अनुसार उपचार गराउँन सकिन्छ । महिनावारी सुरु हुनुलाई मेनार्क भनिन्छ । महिलाहरूमा ४५ देखि ५० वर्षको उमेर पुगेपछि महिनावारी हुन बन्द हुन्छ । यो महिनावारी बन्द भएको अवस्थालाई मेनोपज भनिन्छ ।
अधिकांश किशोरीहरु पहिलो पटक महिनावारी हुँदा डराएका हुन्छन् । उचित परामर्श नभएमा उनिहरुमा लामो समयसम्म मानसिक तनाव पनि हुन सक्दछ । रक्तस्राव भएदेखि अर्को महिना रक्तस्राव नहुञ्जेलसम्म शरीरमा विभिन्न खालका शारीरिक तथा व्यवहारजन्य परिवर्तनहरू आउँछन् । यस्तो परिवर्तनहरू हरेक महिनामा चक्रको रूपमा भैरहने भएकोले यसलाई महिनावारी चक्र भनिएको हो । सामान्यतया हरेक २८ दिनमा महिनावारी हुन्छ तर यो व्यक्ति पिच्छे फरक पर्नसक्दछ । कसैलाई भने सबै महिनामा दिन गन्ति अनुसार नभएर अगाडि पछाडि पनि भएको हुनछ । औसत अगाडि भए २३ ढिलोमा ३५ दिनसम्ममा महिनावारी हुन्छ । त्यो भन्दा पनि अगाडि वा अझै पछाडि भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न पर्दछ।
महिनावरी भएको बेलामा ध्यान दिनुपर्ने कुराहरु :
-यौनांगबाट रगत बग्ने हुनाले सरसफाईमा ध्यान दिनुपर्दछ ।
-प्याड प्रयोग गर्नुपर्दछ । सकेसम्म स्यानेटरी प्याड र सफा सुती कपडाको प्रयोग गर्नुपर्छ । प्याड हरेक चार घन्टामा फेर्नुपर्दछ । एउटै प्याड लामो समय राख्दा ब्याक्टेरिया फैलिन सक्छ ।
-महिनावरीका बेलामा आइरनको कमी हुने भएकाले पोषणयुक्त खानेकुरा खानका लागि विशेष ध्यान दिनुपर्दछ ।
-महिनावरीका बेलामा यौनांगमा पाउडर र क्रिमजस्ता वस्तु प्रयोग गर्नुहुँदैन । यस्ता बस्तु प्रयोग गरेमा इन्फेक्सन हुन सक्दछ ।
-महिनावरीका बेलामा दुःखाई बढी भयो भनेर कुनै पनि प्रकारका औषधी पनि सेवन गर्नु हुदैन । किनभने यसले स्वास्थ्यलाई नकारात्मक असर पार्दछ ।