गाउंमै दुधका सामग्री उत्पादन
स्थानीय उत्पादन प्रवद्र्धन
विदुर–नुवाकोटको थानापतिमा गाउंमा दुगधजनय सामग्री उत्पादन गरिएको छ । यसवाट स्थानीय उत्पादन गाउंमै प्रवद्र्धन भइरहेको छ ।
काठमाडौ प्रवेशका लागि नुवाकोटवाट छोटो दुरीको त्रिशूली–छहरे–टोखा सडकमार्गको वचिमा रहेको शिवपुरी गाउंपालिका ८, थानापतिमा स्थानीय युवा कृषकले विभिन्न सहकारीबाट सङ्कलित दुध प्रयोग गरी दुग्धजन्य मिठाई उत्पादन तथा बिक्री सुरू गरेका छन् । यसससंगै प्राङ्गारिक कृषि सामग्री बिक्री केन्द्र तथा अर्गानिक भोजनघरसमेत सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रर्वद्धन गरिएको छ ।
स्थानीय जागरूक कृषि सहकारी संस्थाबाट सङ्कलित ताजा दुधको प्रयोग गरी रसभरी, पेडा, बर्फी, कलाकन्द जस्ता परिकार किसान रामप्रसाद पुडासैनीले उत्पादन गरि विक्रिी वितरण गरिरहेका छन् । गुणस्तर तथा स्वच्छतामा ध्यान दिंदै तयार गरिएका यी मिठाई सो सडकमार्गका यात्रुहरु तथा उपभोक्तामाझ पछिल्लो समय लोकप्रिय समेत बन्दै गएका छन् । 

कृषि सामग्री बिक्री केन्द्र तथा अग्र्यानिक खाजाघरमा जैविक तरकारी, फलफुल, अन्न, मसला, कोदो, फापरबाट बनेको ढिडो तथा अन्य प्राङ्गारिक लोकल उत्पादन उपलब्ध छन् । खाजाघरमा यस सडकखण्ड हुँदै आवतजावत गर्ने यात्रु तथा स्थानीय बासिन्दाका लागि पौष्टिक तथा स्वादिष्ट परिकार उपलब्ध रहेको खाजाघर व्यवस्थापक बिमल पाण्डेले बताए ।
पाण्डेका अनुसार यो व्यवसायले स्थानीय किसान, दुग्ध उत्पादक तथा सहकारी संस्थालाई प्रत्यक्षरूपमा फाईदा पुगेको छ । स्थानीय निकाय तथा कृषि व्यवसायीको सहकार्यमा सञ्चालन गरिएको यस परियोजनाले कृषि तथा दुग्ध व्यवसायलाई प्रोत्साहन गर्दै स्थानीय अर्थतन्त्रलाई सबल बनाउने अपेक्षा गरेको छ ।

प्राङ्गारिक कृषि सामग्री बिक्री केन्द्र तथा अर्गानिक खाजाघर सञ्चालनले वैदेशिक मानसिकता बोकेका युवालाई सकरात्मक सन्देश दिएको शिवपुरी गापा अध्यक्ष गोबिन्दप्रसाद थपलियाले वताए । उनले स्वरोजगारमा लागेर गाउंसमाजमा नमूना कार्य गर्न गापाले युवालाई प्रोत्साहन कार्य गरिरहेकोसमेत वताए ।
युवापुस्ताको यस प्रकारको नमूना कार्यलाई प्रोत्साहन र पुरस्कृत गरिने गापा उपाध्यक्ष वीरबहादुर तामाङले वताए । कार्यक्रममा वडाध्यक्ष केशवराज रिजाललगायतले किसानले आत्मनिर्भरताको वाटोतर्फ क्रियाशील हुनुपर्नेमा जोड दिए । 












































