गल्छी–देवीघाट–छहरे–टोखा सडकमा चाप
विदुर–नुवाकोटवाट काठमाडौ प्रवेश गर्ने छोटो दुरीको गल्छी–देवीघाट–छहरे–टोखा सडकमा सवारी चाप बढेको छ । सजग भई यातायात सन्चालन गर्न सम्वन्धित निकायले आग्रह गरेको छ ।
राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग पृथ्वी राजमार्गमा पुलमा प्वाल पुर्नुका साथै त्रिभुवन राजपथको नागढुंगा–नौविसे खण्ड दिउँसो बन्द हुँदा गल्छी–देवीघाट–छहरे–टोखा सडकखण्डमा सवारी चाप बढेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उक्त सडक खण्डमा सवारी चाप बढेपछि सुरक्षा सजकता अपनाएर यातायात सन्चालन गर्न आग्रह गरिएको प्रहरी नायव उपरिक्षक विक्रम लामाको भनाई छ ।
गल्छी–देवीघाट–छहरे–टोखा सडकखण्डमा दैनिक पांचसय भन्दा वढि साना तथा ठुला यातायातका साधनहरु चल्ने गरेका छन् । उक्त सडक खण्डमा सवारी चाप उल्लेखनीय रुपमा बढेको थानापतिका व्यवसायी रामप्रसाद पुडासैनीको भनाई छ ।
पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन सडक यहि जेठ १० देखि पिप्लामोड–नागढुंगा सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । त्यसका लागि पनि उक्त खण्ड अस्थायी रूपमा बन्द गरिएको हो ।
धादिङको थाँक्रे गापा ७ र ८ जोड्ने पृथ्वी राजमार्गको सोप्यागं खोला पुलमा भ्वाङ परेपछि मंगलवार गल्छीवाट यातायताका साधनहरु नुवाकोट हुंदै गल्छी–देवीघाट–छहरे–टोखा सडकखण्डवाट काठमाडौ गइरहेका छन् । नँयापुल निर्माण गर्ने कार्य गरिरहेको क्रममा पुरानो पुलको वालमा क्षति पुगेकोले काठमाडौबाट धार्के हुंदै महादेबवेसीतर्फ जाने र महादेबवेशीबाट काठमाडौतर्फ जाने बाटो अबरुद्द भएपछि गाडीहरु नुवाकोटतर्फ लागेका हुन् ।
सानातिना र मझौला सवारीसाधनहरूले वैकल्पिक मार्गका रूपमा सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर) हुँदै गल्छी मार्ग प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ । सडक सुधारका कारण जेठ १० देखि २५ गतेसम्म बिहान सांढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकिनेछ ।
यद्यपि, आपतकालीन सेवाका लागि दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधनहरूलाई स्वतन्त्र आवागमनको अनुमति दिइएको छ । पुलमा भ्वाङ परेर आवागमन रोकिन गएपछि प्रहरीले साना सवारी साधनलाई पृथ्वीराजामार्गको गल्छीबाट नुवाकोटको बाटो हुँदै काठमाडौ र काठमाडौं टोखा नुवाकोट हुँदै गल्छीको बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
भत्किएको पुल मर्मतको कार्य भई रहेकाले सुचारु हुनेबितिकै यातायात सेवा नियमित हुने पनि प्रहरीले जनाएको छ । उता, नागढुंगा नौविसे सडक खण्ड दिउँसोको समयमा वन्द गरेर कालोपत्रे गर्ने कार्य भईरहेको र नौविसे हुंदै काठमाण्डौं जाने सवारी साधन धार्के सितापाईला सडकबाट सञ्चालन भईरहेकोमा धार्के भन्दा केही तल रहेको सोप्याङको पुलमा भ्वाङ परेपछि थप समस्या आएको हो ।
यसैवीच, नुवाकोटको शिवपुरी गाउँपालिका ६ मा अम्मटे–लप्से पुल सडक खण्ड एक हप्ता बन्द भएको छ । शिवपुरी गापाले शिवपुरी ६ स्थित पुरानो गाविस भवन महतटोल अम्मटे–लप्से पुल सडक खण्ड कालोपत्र गर्ने कार्यक्रम भइरहेकोले यहि जेठ १५ गतेसम्म उक्त सडकखण्डमा सवारी साधन आवागमन बन्द भएको जनाएको छ ।
शिवपुरी गापाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । खोलेगाउँको पसलदेखी लप्से पुलसम्म ४ किलोमिटर सडकखण्ड कालोपत्रेको कार्य भइरहेको शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले वताए ।
कुल ४ किलोमिटर सडकका लागि बागमती प्रदेश सरकार अन्तर्गत भौतिक योजना तथा पूर्वाधार मन्त्रालयबाट बजेट प्राप्त भएको थियो । शिवपुरी नुवाकोटको पर्यटकिय स्थल हो । 











































