प्रकाशकीय : हामी सबैलाई बधाई ।

लोकखबर
१६ माघ २०७९, सोमबार १९:४२

आज माघ १६, शहीद दिवस । आजैका दिन २०७५ साल माघ १६ गते लोकखबर डटकमको प्रकाशन शुभारम्भ भएको थियो । आजबाट यो अनलाइन चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । सकारात्मक सूचनाको संवाहक भन्ने भावनालाई आत्मसात् गरी अघि बढेको यो आधुनिक संचारलाई अहिलेसम्म लक्षित ढंगबाट संचालन गर्न हामी सक्षम भइराखेका छौं भन्ने लागेको छ । लोकखबर प्राइभेट लिमिटेडको प्रकाशनमा संचालित लोकखबर डटकम लोकप्रति पूर्ण जिम्मेवार रही पत्रकारिताको कर्ममा क्रियाशील छ भन्ने हाम्रो विश्वास छ । हाम्रो यो विश्वास पनि फेरि केबल हाम्रै मात्र प्रयत्नले होइन यसका लागि तपाई तमाम पाठक, शुभेच्छुक, शुभचिन्तक, विज्ञापनदाता लगायत सहयोगी हातहरुबाट सम्भव भएको हो । यस अवसरमा यी अनन्य सरोकारवालाहरुप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं ।

पछिल्लो समय जसरी सूचना संजाल विस्तार भएको छ, त्यसरी नै सूचना प्रवाहका लागि सहजता भएका छन् । विश्वभरका खबर एकै क्लिकमा थाहा पाउनका लागि कुनै असजिलो रहेन अब । इन्टरनेट र स्मार्ट फोनका भरमा सूचना सबको हात–हातमा पुग्नु ठूलै फड्को हो । यदि सूचना प्रविधीमा यस खालको विकास नहुँदो हो त हामी धेरै नै पछि परिरहेका हुन्थ्यौं । तर, आज इन्टरनेटको प्रभावशाली उपस्थितील प्रभावकारी आधुनिक संचारको तीब्र विकास भइरहेको छ । लोकखबर पनि यही भीडमा उपस्थित भएको एउटा भरपर्दो संचार सारथि हो भन्ने हाम्रो समूहलाई लागेको छ । हामी ब्रेकिङ न्यूज दिने नाममा अथवा सूचना ताजा दिने नाममा गलत र भ्रमपूर्ण सन्देश प्रवाह नहोस् भन्नेमा सचेत छौं । लोकखबर प्रकाशन शुभारम्भ भई आजका समयसम्म आइपुग्दा हामीले पत्रकारिताको आधारभूत सिद्घान्त तथा आचारसंहितालाई मनन गरेका छौं । आगामी दिनमा पनि संचारकर्मका विभिन्न नियम कानूनलाई ख्याल गरी देश तथा जनतालाई शिरमा राखेर पत्रकारिताको धर्म निर्वाहका लागि हाम्रो कलमले खबर लेख्नेछ । आजको यो अवसरमा हामी लोकखबरका तर्फबाट यही प्रण गर्दछौं कि सत्यको मार्गमा पत्रकारिताको कर्मयात्रालाई निरन्तर अगाडी बढाउनु हाम्रो कर्म हुनेछ ।

मन थियो कि यस वार्षिकोत्सवमा लोकखबरका विभिन्न घोषणा गरौं । पत्रकारितासंग सम्बन्धित योजनाहरु अघि सारी समाजलाई केही योगदान पनि दिऔं । तर हाम्रो मन भएर मात्र पनि नहुने रहेछ, यसका लागि विभिन्न पक्षहरुमा हामी बलियो हुनुपर्ने रहेछ । अझ फरक शैली र अझ गहकिलो प्रस्तुतीबाट लोकखबरमा अनलाइन पत्रकारिता गर्न सकेको भए हामी अझ उचाई चुम्न सक्ने थियौं । तर, सिमित स्रोत साधन, सिमित जनशक्ति तथा अन्य सिमित कुराहरुका कारण आशातित सफलता प्राप्त गर्न हामीले सकेनौं । यो स्वीकार्न हामीलाई कुनै हिच्किचाहट पनि छैन किनभने ठूला सपना बाँडेर सानै कर्म पनि गर्न सकिएन भने हामीले विश्वास आर्जन गर्न पक्कै सक्नेछैनौं । यसैले हामीले जे जति गर्न सकेका छौं । एक प्रकारले हामी सफल नै भइरहेका छौं भनेर निर्धक्कले आफूलाई यो संसारमा उभ्याउन सक्छौं । र पनि आगामी दिनमा अनलाइनको लेआउट, यसमा समावेश गरिने विषयवस्तुहरुमा केही नयाँ, केही फरक गर्ने हाम्रो सोच छ । हालसम्म प्राप्त गरेको साथ सहयोग तथा हौसलाप्रति आभार व्यक्त गर्दैै आगामी दिनमा पनि यस खालको सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राख्दछौं । लोकखबरको पाँचौ वर्ष प्रवेशका अवसरमा तपाईं हामी सबैलाई बधाई ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*