उद्योगका सम्भावनालाई उजागर गर्न आवस्यकः सापकोटा

नुवाकोटको छिमेकी धादिङको निलकण्ठ नगरपालिका १२ का किशोर सापकोटा उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख हुन् । २०७१ सालमा खरिदारवाट निजामति सेवामा प्रवेश गरेका सापकोटाले २०७३ सालमा नायव सुव्वामा नाम निकाले । त्यसको एक वर्षमै अधिकृतमा उत्तिर्ण भएका युवा उमेरका सापकोटाले नुवाकोटमा २१ महिनादेखि कार्यालय प्रमुख भएर सेवा गरेका छन् । उनले यसअघि अधिकृत भएर वागमति प्रदेशको उद्योग मन्त्रालय तथा धादिङकै उद्योग तथा वाणिज्य कार्यालयमासमेत सेवा गरिसकेका छन् । प्रस्तुत छ, अधिकृत सापकोटासंग नुवाकोटको उद्योग व्यवसायको अवस्थाका वारेमा गरिएको कुराकानीका सारसंक्षेपः
नुवाकोटमा उद्योग तथा वाणिज्यको अवस्था के छ ?
–कार्यालयको अभिलेख अनुसार विगत २/३ वर्ष अघिको जस्तै अवस्था छ, न त खासै उतार चढाव छैन । यद्यपी, कार्यालयमा आउने सेवाग्राहीको अनुभव सुन्दा भने जिल्लामा उपभोगको दर नै घटेको अवस्था छ ।
उद्योग व्यवसाय दर्ता तथा नवीकरण अवस्था कस्तो छ ?
–नुवाकोटमा उद्योग व्यवसाय दर्ताको दर कोभिड १९ पश्चात घट्दो क्रममा देखिन्छ, नवीकरण एक वर्षमा आठ नौ सय वटा फर्मको हाराहारीमा हुने गरेको छ । हामीले उद्योग दिवस मनाउनेलगायत अन्य सन्दर्भमासमेत मुल उद्धेश्य उद्योगी व्यवसाय वढोस र उत्पादन तथा वजारीकरण होस भन्ने पनि थियो ।
कस्तो प्रकृतिको उद्योग व्यवसाय दर्ता हुन्छन् ?
–नुवाकोट जिल्लामा उद्योग तर्फ धेरै जसो कृषिमा आधारित उद्योग धेरै छन् भने त्यसका अलावा थोरै मात्रामा सेवामुलक तथा उत्पादनमुलक उद्योग पनि छन्। साथै व्यवसाय तर्फ भने नुवाकोट बासीलाई आवश्यक पर्ने दैनिक उपभोग्यका सामग्रीको कारोबार गर्ने व्यवसाय धेरै छन् ।
साना तथा स्थानीय उद्यमीहरुको संरक्षणमा कार्यालयले कस्तो भूमिका खेलेको छ?
–कार्यालयमा उद्योग तथा वाणिज्य प्रशासन (दर्ता, नवीकरण, नामसारी, ठाउँसारी लगायत) का कार्यलाई छिटो छरितो सम्पादन गर्ने (सेवाग्राही कार्यालय आएकै दिन एक/दुई घण्टामा नै), आवश्यकताअनुसार सीप विकास तालिम, प्रविधि हस्तान्तरण मार्फत साना तथा स्थानीय उद्यमीहरुको संरक्षण तथा संवद्र्धनमा सकारात्मक भूमिका खेलेको छ ।
यस कार्यालयमा कति उद्योग व्यवसाय आवद्ध छन्?
–कार्यालयको वर्तमान अभिलेख अनुसार ९५०० भन्दा बढी उद्योग व्यवसाय दर्तामा रहेका छन् । दर्ता अनुसार निरन्तरतामा समस्या देखिएको छ ।
दर्ताको तुलनामा उद्योग÷व्यवसाय खारेज धेरै हुनुको कारण के हो?
–मुलत २ वटा कारणले उद्योग व्यवसायको लगत कट्टा दर्ताको तुलनामा धेरै देखिएको छ । एउटा कारण प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ अनुसार पाँच लाख रुपैयासम्म स्थिर पूँजि भएका उद्योग तथा व्यवसायहरु स्थानीय तहमा नै दर्ता गर्ने प्रावधान रहेको हुँदा सो बमोजिम नै हाम्रो कार्यालयमा दर्ता कायम रहेका उद्योगहरु स्थानीय तहमा दर्ता हुन तथा अर्को कारण भने व्यवसाय नै बन्द गर्ने रहेको छ ।
साना तथा घरेलु उद्योगहरु पलायन हुनुको कारण के हो?
–तपाइले भनेजस्तो पलायन नै भएको अवस्था भने छैन । यद्यपि, व्यवसायीकै कुरा सुन्ने हो भने चाहिं विगतको तुलनामा वस्तु तथा सेवाको उपभोगमा कमी आउनु, ठुला उद्योगी व्यवसायीसँग साना उद्योगीहरुले प्रतिष्पर्धा गर्न नसक्नु लगायतका कारणहरु छन् ।
नुवाकोटमा उद्योग विस्तारका सम्भावनाहरु क्े के हन् ?
–कृषिजन्य उद्योगको सम्भावना प्रबल छ । जस्तैः ककनीमा स्ट्रबेरी र चिसो हावापनी भएको स्थानमा ट्राउट माछा, लिखुमा आलु, पञ्चकन्यामा तरबुजा, म्यागङमा गोलभेंडालगायत छन् । साथै नुवाकोटमा पर्यटकीय क्षेत्र प्रशस्त रहेको हुँदा पर्यटन उद्योग पनि सम्भावना बोकेको क्षेत्र हो ।
सरोकारवालाहरुले उद्योग तथा व्यवसाय संरक्षणका लागि कस्तो सहयोग गरिरहेका छन्?
–सरोकारवालाहरुले आफ्नो स्थानबाट उद्योग तथा व्यवसाय संरक्षणका लागि विभिन्न नीतिगत सुझाव दिने, समय समयमा आफ्नो हकहितका लागि सामुहिक सौदाबाजी गर्ने, विभिन्न मेला प्रदर्शनी मार्फत् उद्योग व्यवसायको प्रचार प्रसार गर्ने जस्ता कार्य गर्दै आएका छन् यद्यपि, यसलाई नै पर्याप्त मान्न मिल्ने अवस्था भने छैन । प्रस्तुतीः देवचन्द्र भट्ट