हामीले हाम्रो खानालाई सन्तुलित बनाउँनुपर्छ । हामीले खाना खाँदा मौसम अनुसारका खाद्यवस्तु खानामा समावेश गर्नु स्वास्थ्यका लागि फाइदा हुन्छ।
गर्मी महिनामा वायुमण्डलको तापक्रमसँगै शरीरको तापक्रम बढ्ने र पसिना बढी बग्ने हुनाले शरीरलाइ शितलता दिने, घामबाट सुरक्षा दिने, एन्टिअक्सिडेन्टयुक्त र शरीरमा पानीको मात्रा सन्तुलन राख्ने खानेकुरा खानुपदर्छ ।
गर्मी मौसममा विशेषगरी हामीले खरबुजा, तरबुजा, मेवा, प्याज, पुदिना, कागती, काँक्रो, काँचो आँप, मकै र अन्य हरिया सागपात तथा तरकारी खानुपर्दछ । किनभने यी खानेकुरामा एन्टिअक्सिडेन्ट, एन्टिहिटस्ट्रोक तथा शितलता प्रदान गर्ने तत्व रहेको हुन्छ ।
गर्मी महिनामा हाम्रो शरीरलाई सन्तुलित राख्नका लागि नरिवलको पानी, ताजा फलफूलको जुस, दही र मोही पनि खानु राम्रो हुन्छ ।
गर्मी महिनामा कसैलाई खाना खान मन नलाग्ने तथा अरुची हुने हुन्छ । खाना खान मन लागेन भन्दैमा केही नखानुभन्दा शरीरलाई शितलता दिने र शक्ति दिने खाना खानुपर्दछ । ताजा फलफूल, जुस, दही वा महीको लस्सी, नरिवल पानी, कागतीको जुस आदि खानाका साथै बीच-बीचमा खानुपर्दछ ।
गर्मी महिनामा स्वस्थ अघिपछि भन्दा बढी मात्रामा पानी पिउनुपर्दछ । चिसो मौसममा दैनिक १.५ लिटरदेखि २ लिटर पानी पिउनुपर्दछ भने गर्मी मौसममा २ लिटरदेखि ३ लिटर पानी पिउनुपर्छ । यदि बढी तापक्रम हुने र पसिना बढी आउने ठाँउमा ५ लिटरसम्म पानी पिउनु पर्दछ ।
गर्मीमा शितलता पाइन्छ भन्दैमा जथाभावी चिसो पिउने भन्दा पनि आफूलाई फाइदा गर्ने फलफूल खानमा लागिपर्नुपर्छ ।