नेपालमा हवाई दुर्घटनाको पछिल्लो अवस्था र तितो इतिहास
नेपालको हवाई क्षेत्र असुरक्षित भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा निकायहरुले बेला बेलामा प्रतिवेदनहरु सार्वजनिक गरिरहेको समयमा बुधबार अर्को अकल्पनिय दुर्घटना हुन पुगेको छ । एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका १० को तारेढुंगा भीरमा दिउँसो साढे १ बजे दुर्घटना भएको हो । सो दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको दुःखद निधन भएको छ । निधन भएका अन्यमा यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिए अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्यन प्राधिकरणका इन्जिनियर धुर्व्रदास भोछिभया तथा हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहेका छन् । तेह्रथुमको अठराई गाउँपालिकाको चुहानडाँडामा बनाउन लागिएको विमानस्थलको सम्भाव्यता अध्ययन गर्न मन्त्री अधिकारी सहितको टोली त्यसतर्फ गएको थियो ।
यसैगरी नेपाली आकाशमा वि.सं. ०६३ साल असोज ७ गते ताप्लेजुङमा नै भएको श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा २४ जनाले ज्यान गुमाएका थिए । कञ्जनजंघा संरक्षण क्षेत्र आयोजना समुदायमा हस्तान्तरण गर्न ताप्लेजुङ आइपुगेका तत्कालीन वन मन्त्री गोपाल राई चढेको हेलिकप्टर घुन्साको ढुङ्जे पहाडमा ठोक्किंदा उनी लगायत उनकी श्रीमतीसहित २४ जनाको मृत्यु भएको थियो ।
पञ्चायत कालमा ताप्लेजुङबाट नै प्रतिनिधत्व गर्दै पहिलो पटक राज्यमन्त्री बनेका चन्द्रबहादुर पालुवासमेतको हवाई जहाज दुर्घटनामा परि ज्यान गएको थियो । त्यतिबेला ताप्लेजुङको सुकेटारबाट उडेको केही मिनेटमै जहाज आकाशमै आगो लागेर दुर्घटना भएको र मन्त्री पालुवासँगै ११ जनाले ज्यान गुमाएका थिए । हेलिकोप्टर दुर्घटनामा यो नै सबैभन्दा ठूलो दुर्घटना हो ।
विगतमा भएका विमान दुर्घटनाका इतिहास केलाउने हो भने यस श्रृंखलाले ०७५ सालमा पनि निरन्तरता पाएको छ । गत जेठ २ गते विहान मकालु एयरको कार्गो विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको केहिबेरमै दुर्घटनामा परेको थियो । यस दुर्घटनामा चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको निधन भयो । पछि मंशिरमा पनि विमान दुर्घटना भएको थियो । गतवर्ष ०७४ फागुन २८ मा राजधानीमै विमान दुर्घटनामा परेपछि त्यसलगत्तै अरु २ वटा विमान पनि दुर्घटनामा परेका थिए । नेपाली आकाशमा एकपछि अर्को विमान दुर्घटनामा परेपछि अन्तर्राष्ट्रियस्तरमै नकारात्मक सन्देश गएको छ ।
०७४ फागुन २८ गते नेपाली विमान इतिहासमा सबैभन्दा दुःखद दिनको रुपमा लेखिएको छ । बंगलादेशको ढाकाबाट नेपालका लागि आएको युएस बंगला ७३८ एयर क्राफ्ट विमान अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भयो । विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्री सवार रहेका थिए । जसमध्ये केहिलाई घट्नास्थलबाट जिवीतै उद्धार गरिए पनि ५१ जना यात्रीहरुको दुखद निधन भएको थियो । दुर्घटनामा मानविय क्षतिको हिसाबले यो निकै नै ठूलो विमान दुर्घटना हो । यसरी पटक पटक नेपाली आकाशमा विमान दुर्घटना दोहोरिने श्रृंखलाले नेपाली हवाईक्षेत्र प्रति नै प्रश्नहरु उठ्न थालेका छन् । के साँच्चै नै नेपाली आकाश असुरक्षित नै छ त भन्ने प्रश्न यतिबेला चुनौतीका रुपमा उभिएको छ ।
नेपालमा विमान दुर्घटनाहरु कहिले र कसरी भएका थिए त भनेर हामीले यसपटक दुर्घटनाको इतिहास केलाउने प्रयास गरेका छौं । ०७४ को जेठ महिनामा पनि नेपाली आकाशमा दुईवटा विमान दुर्घटना भएका थिए । जेठ १३ गते लुक्लामा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा चालक पारशकुमार राईको ज्यान गयो भने १७ गते वाजुरामा सेनाको जहाज खस्दा पाइलट कौशल गुरुङ्ग सहित २ जनाको निधन भयो । ०७३ सालको साउन महिनामा पनि एउटै महिनामा ३ वटा सम्म विमान दुर्घटना भएका थिए ।
भर्खरै मात्र थपिएको सहित नेपालमा ९३ वटा विमान दुर्घटना भएका छन् । यद्यपी मानवीय क्षती भएको हिसाबले हेर्ने हो भने यो ५० औं दुर्घटना हो । नेपालमा हवाईयात्राको शुरुवात वि.सं. २००६ देखि अहिले सम्म ८ सय ५५ जना भन्दा वढीले यसकै कारण ज्यान गुमाएका छन् । यो पक्कै पनि दुःख लाग्दो अवस्था हो । नेपालको भौगोलिक अवस्थाका कारण धेरैजसो हवाई दुर्घटनाहरु हुने गरेका भएपनि पछिल्ला दिनहरुमा यसको कारण खराब मौसम, विमान चरासँग ठोक्किनु र प्राविधीक कारण लगायतबाट एकपछि अर्को दुर्घटनाहरु थपिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।
नेपालमा पहिलो विमान दुर्घटना वि.सं. २०१२ मा भएको थियो । कालिंगा एयरको यो दुर्घटनामा २ जनाको निधन भएको थियो । त्यस्तै वि.सं. २०१३ साल जेठ १३ मा अर्को दुर्घटना भयो । इन्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जना यात्रीको दुःखद निधन भएको थियो । त्यसपछि साना–ठूला दुर्घटनाहरु थपिंदै गए । सडक दुर्घटना जस्तो विमान दुर्घटनामा यात्रीहरुलाई घाइते अवस्थामा उद्धार गरिएका उदाहरणहरु ज्यादै कम मात्रामा आउने भएपनि केहि मात्रामा घाइते भएका घट्नाहरु पनि नभएका होइनन् । हुन त कुनैपनि दुर्घटना राम्रो होइन । तर पनि विमान दुर्घटना आफैंमा एउटा कहाली लाग्दो अवस्था त हो नै त्यसमा पनि पछिल्लो पाँच वर्ष यता वर्षेनी झण्डै २ वटाको दरमा भएका विमान दुर्घटनाहरुलाई फर्केर हेर्दा नेपालमा हवाईयात्रा साँच्चिकै जोखिमयुक्त रहेकै हो कि भन्ने अनुमान गर्न थालिएको छ ।
नेपालको विमान दुर्घटनाको इतिहास केलाउँदा सबै भन्दा ठूलो र वढी मानविय क्षति भएको दुर्घटना आजभन्दा २६ वर्ष अगाडि वि.सं. २०४९ साल असोज महिनाको १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई लिन सकिन्छ । पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ जना नेपाली नागरिक सहित विमानमा सवार सबै १ सय ६७ जना यात्रीहरुको दुःखद निधन भएको थियो । संयोग नै हो, पछिल्लो पटक भक्तपुरको मनोहरा फाँटमा भएको सीता एयरलाइन्सको विमान पनि ०६९ असोज १२ गते नै दुर्घटना भयो । यस अर्थमा त्यो दिनलाई विमान दुर्घटनाको इतिहासमै कालोदिनका रुपमा लिन सकिन्छ । वि.सं. २०४८ सालमा रसुवा जिल्लाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना हुँदा १ सय १३ जनाको मृत्यु भएको थियो । यो पनि हवाई दुर्घटनाको इतिहासमा धेरै मानविय क्षति हुन पूगेको दुर्घटनाको रुपमा रहेको छ ।
विगत १० वर्ष यता नेपाली आकाशमा भएका विमान दुर्घटनाहरुलाई सर्सती हेर्ने हो भने २०६५ साल असोज २२ गते सोलुखुम्बु जिल्लाको लुक्लामा यति एयरलाइन्सको विमान दुर्घटना भयो । यसमा १८ जना यात्रीको मृत्यु भएको थियो । त्यसैगरि २०६७ सालको भदौ ८ गते मकवानपुर जिल्लाको शिखरपुरस्थित तोरीबारीमा अग्नी एयरको विमान दुर्घटना हुँदा १४ जना यात्रीको निधन भयो । ०६७ कै मंशिर २९ गते ओखलढुङ्गामा तारा एयरको विमान दुर्घटना भयो । यसमा २२ जना यात्रीहरुले ज्यान गुमाउनु प¥यो । यस्तै विमान दुर्घटनाको श्रृंखला ०६८ असोज ८ गते पनि दोहोरियो । बुद्ध एयरको सेवा शुरुको १४ वर्षको इतिहासमा यो उसको पहिलो विमान दुर्घटना थियो । ललितपुरको कोटडाँडामा भएको यस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।
त्यस्तै ०६८ सालकै कार्तिक १ गते नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । २०६९ जेठ १ गते अग्नी एयरको विमान जोमसोममा दुर्घटना भयो । १५ जनाले यसमा ज्यान गुमाए । ०६९ असोज १२ गते सीता एयरको विमान दुर्घटना काठमाडौं उपत्यका भित्रै मनोहरा खोला किनारमा भएको र यसमा १९ जनाको निधन भएको उपत्यकावासि र सम्पूर्ण नेपालीहरुको लागि अविष्मरणिय घट्ना हुन पुगेको छ । यसपछि पनि पटक–पटक विमान दुर्घटनाका श्रृंखला दोहोरिइरहे । यस्तै ०७० फागुन ४ मा भएको नेपाल वायुसेवा निगमको विमान दुर्घटनाले नेपालको हवाई यातायातमा अर्को ठूलै चुनौती थपिदियो । अर्घाखाँची जिल्लामा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । ०७२ फागुन १२ गते पनि विमान दुर्घटना भयो । तारा एयरको यो विमान पोखराबाट जोमसोमका लागि उडेको थियो । म्याग्दीमा दुर्घटना भएको यस विमानमा २३ जना यात्रीहरुको निधन भएको थियो । यी त केहि मुख्य दुर्घटनाहरु भए । साना–तिना दुर्घटनाहरु त कति भए कति , लेखाजोखा नै छैन ।
यो कहाली लाग्दो श्रृंखलाका पछाडी कहिले विमानमा प्राविधिक समस्या त कहिले चरासँग विमान ठोकिनु अनि खराव मौसम नै मुख्य कारण रहेको खुल्न आएको छ । यसरी विश्वमा सबैभन्दा छिटो र सुरक्षित मानिएको हवाईयात्रा नेपालमा भने दिनदिनै असुरक्षित बन्दै जानु पक्कै पनि राम्रो कुरा होइन। यसले एकातिर हाम्रो आर्थिक र मानवीय क्षतीलाई वढाइरहेको छ भने अर्का तिर विश्वमा नेपालको असुरक्षित हवाईयात्राको गलत सन्देश प्रवाह भइरहेको छ । यसरी वढ्दै गईरहेको हवाई दुर्घटनालाई न्युनिकरण गर्न सरकार र नागरिक उड्ययन प्राधिकरणले कुनै पहल गरेकै देखिदैंन । यसमा उनीहरुको व्यवस्थापनकै कमजोरी मुख्य दोषी पाइएको छ । दुर्घटना भईसकेपछि घटनाको वास्तविकता पत्ता लगाउन छानविन समिती गठन गर्ने र घटना सेलाउदै गएपछि समितीले दिएको प्रतिवेदनलाई दराजमा थन्क्याएर राख्ने सरकारी कार्यले पनि विमान दुर्घटना वढाएको छ । अघिल्लो दुर्घटना भएको प्रतिवेदन पछि त्यसतर्फ सर्तकता अपनाउने र आगामी दिनहरुमा दुर्घटना रोक्न सक्ने रणनिती तय गर्ने हो भने पनि धेरै हद सम्म यस्ता विनाशकारी दुर्घटनाहरु रोक्न सकिने विज्ञहरु बताउँछन् ।
हुन त अन्तर्राष्ट्रिय निकायबाट नेपालको एक मात्र ठूलो र बाह्य देशसँगको सम्पर्क वढाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उपत्यका वरिपरि भएका जंगल र त्यहाँ रहेका विभिन्न ३० प्रजातीका चराहरुका कारण असुरक्षित भएको निश्कर्ष निकालिसकिएको छ । त्यसमा पनि राजधानीमा दिनहुँ थुप्रिने गरेको फोहोरका कारण चिल, बाज, गिद्ध, हुचिल लगायतका चराहरु वढ्दै गएको र यीनीहरुकै कारण दुर्घटनाहरु हुने गरेको पनि प्रष्ट छ । नेपालको भौगोलिक अवस्था र मौसम खरावी जस्ता कारण पनि हवाईयात्राका मुख्य चुनौतीहरु हुन् । पुराना र धेरै वर्ष प्रयोगमा आईसकेका विमानहरुलाई समय–समयमा मर्मत नगरिंदा पनि दुर्घटना वढ्दै गएको तथ्यलाई पनि नकार्न सकिंदैन । दक्ष प्राविधिक र चालकहरुको अभावले पनि यस्तो त्रास वढाएको छ ।
यी र यस्तै विषयहरुलाई ध्यानमा राखेर सम्बन्धित निकायले काम गर्दै जाने हो भने आगामी दिनहरुमा पक्कै पनि यस्ता कहाली लाग्दा हवाई दुर्घटनाहरुलाई रोक्न सकिनेछ । यसो गर्न सकियो भने विमान दुर्घटनाकै कारण अर्बौं रुपैयाँ बराबरको धनजनको नोक्सानी कम गर्न सकिनेमा दुईमत छैन । यसरी चूनौतीपूर्ण रुपमा दुर्घटनाहरु वढ्दै जान थालेपछि अब नागरिक उड्ययन प्राधिकरणले यसको नियन्त्रणका लागि कस्तो भूमिका खेल्ला वा अझै कानमा तेल हालेरै बस्ला त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।
समसामयिक यो लेख केन्द्रबिन्दु डटकमबाट साभार गरिएको हो ।