युवक तिमी अरुको लागि प्रेरणा बन्यौं र आफ्नो जीवन बिसायौ
हिजो जस्तै लाग्छ मलाई उनको तस्बीर खिचेको । हेटौंडा कोरा २०७५ मा सहभागीहरु मध्ये अलग र भिन्न । यम भाई र युवक भाईको जोडीले हामीलाई अझै हौसला प्रदान गरेको थियो त्यस दिन । म आफूलाई ५० वर्षमा साईकल चलाउँदै छु भन्ने गर्व गरिरहेको क्षण यी दुईको जोडीले मलाई आत्मग्लानी गराएको थियो । किनकी म शारिरीक रुपले उनीहरु भन्दा सबल र सक्षम थिए । हरेक दृष्टिकोणले म उनीहरु भन्दा अब्वल हुँदाहुँदै पनि म हारेको थिए त्यस दिन । सामाजिक, आर्थिक र स्वास्थ्यको दृष्टिकोणले उनीहरु भन्दा म अब्बल हुँदा हुँदै पनि उनीहरुको हिम्मत, हौसला र मेहनतको अगाडी म आफैलाई शून्य भएको ठान्दथे । अझ भनौ भने युवक भाईको अगाडी म आफूलाई उनीसंग तुलना नै गर्न सक्दैन थिएँ । एउटा साधारण घरको बालक एउटा दुर्घटनामा खुट्टा गुमाएपछिको अवस्थामा पनि हामी भन्दा अव्वल हुनु कुनै सानो कुरा होईन । हरेक राईडमा उनीसंग हिड्दा उनको सरल व्यवहार, हसिलो अनुहार र सभ्य बोली वचनले सवैको मन जितेको एउटा अबोध युवा जो उच्च शिक्षा हासिल गर्दै आईरहेको थियोे । कहिले काँही राईडमा उसलाई हेर्न र कुरा गर्न मान्छेहरुको भीडले मलाई उनी माथि गर्व पनि मन लाग्दथ्यो ।
समय यसरी नै वितिरेहको थियो । अनायस आज मैले सोसल मिडियामा उनको फोटो र स्टाट्सबारे साथीहरुको जानकारीवाट हेरे । मलाई लाग्यो यो केटा भावनामा बगेको छ तर उ एउटा हिम्मत हार्ने मान्छे होईन भन्ने लागेको थियो तर अफसोच केही कारणले होला उसले आफ्नो जीवनलाई यही समयमा बिसाउने निर्णय गरेको रहेछ । उसले जे जो कारणले हो आफ्नो जीवनलाई बिसाउने निर्णय गरेको भएता पनि हामी साईकल प्रेमीहरुले एउटा विश्वासको धरोहर गुमाएका छौ । एउटा उदाहरणको अवसान भएको छ । म स्वयमले पनि भन्ने गरेको वाक्यांस “जब एउटा खुट्टा नहुने एउटा युवकले काठमाण्डौदेखि लुम्विनी सम्म यात्रा गर्न सक्छ भने हामीले किन गर्न सक्दैन” तर आज यो हिम्मत र भरोसा गुमाएका छौ । साईकल समाजले एउटा उदाउदो नक्षत्र गुमाएको दिन हो आज । नारायण गोपाल महर्जन, युवक लामा जस्ता युुवा साईकल प्रेमीहरुलाई गुमाउनु हामीहरुको दुर्भाग्य हो भन्ने मलाई लाग्छ । अन्तमा युवक भाई जति बाँच्यौ हामीलाई प्रेरणा दिनको लागि बाँच्यौ । अबको दिनहरुमा हाम्रो नयाँ साईकल प्रेमीहरुको लागि प्रेरणाको स्रोत हुनेछौ । भगवानसंग प्रार्थना छ तिम्रो वैकुण्ठमा बास होस ।
उही तिम्रो दाजु नरेश राजभण्डारी ।