सम्पादकीय :

माहामारीमा गुमेको रोजगारी र सरकारको दायित्व

लोकखबर
१४ असार २०७७, आईतवार ०९:१६

विश्वव्यापी रुप लिएको कोरोना भाइरस (कोभिड १९ ) का कारण यतिबेला सायदै कुन क्षेत्र प्रभावित नहोला र ? लक डाउनका कारण मानिसको जीवन अस्तव्यस्त बनेको छ । आर्थिक उपार्जनमा धक्का लागेको छ । मकवानपुरका नागरिक पनि लक डाउन पालना गरी घरमै बसेको अवस्था छ । अत्यावश्यक काम नपरी उनीहरु घर बाहिर निस्किएका छैनन् । यो माहामारी एक जिल्लाको मात्र समस्या होइन, एउटा देशको मात्रै पनि होइन । सबै देशको साझा समस्या एवम् चुनौतीका रुपमा काभिड १९ खडा भइरहँदा यसले पार्ने प्रभाव ठूलो छ। विशेषगरी अब यस माहामारीबाट आर्थिक रुपमा समस्याहरु सिर्जना हुन थालेका छन् । काम नगरी दैनिक गुजारा चलाउन, विहान–बेलुकाको छाक टार्न पनि समस्या भोगिरहेकाहरुलाई यतिबेला राहत चाहिएको छ । उनीहरुलाई राहत प्रदान नगर्ने हो भने सरकारले भने अनुसार लक डाउनको पूर्ण रुपमा पालना गर्न पनि उनीहरु कसरी कति दिनसम्म सक्लान ? किनभने काममा गएर कमाउन सकिएन भने उनीहरु भोकभोकै बस्नुपर्ने अवस्था छ । उनीहरुमा आश्रित परिवारका अन्य सदस्य पनि भोकभोकै बस्नुपर्ने नियति बन्नसक्छ । माहामारी सुरु हुँदै गर्दा राहत वितरणमा लागि परेकाहरु विस्तारै राहत दिन नसक्ने अवस्था अथवा आफैंलाई राहत आवश्यक पर्ने अवस्थामा पुग्न पनि सक्ने दिन नआउला भन्न सकिन्न । किनभने हिजो राहत बाँड्न हिडेकाहरु माहामारी लम्बिदै जाँदै गर्दा आर्थिक रुपमा समस्यामा पर्न थालेका छन् । किनभने उनीहरुले सञ्चालन गरेको उद्योग, कलकारखाना बन्द हुनु, नियमित आम्दानी राकिनु, तिर्नुपर्ने ऋण समयमा तिर्न आर्थिक अभाव हुन थालेको गुनासोहरु आउन थालेको छ ।

हेटौंडा वरपर सडकमा बालुवा चालेर, गिट्टी कुटेर खाने वर्गका हुन् वा सवारी चलाएर दैनिक गुजारा गर्ने हुन् । चाहे उद्योग कलकारखानामा काम गर्ने श्रमिक नै किन नहुन् । लक डाउनका कारण यतिबेला घरमै बस्नु परेको अवस्थामा विहान बेलुकाको छाक टार्न पनि समस्या भइरहेको अवस्था छ । यो एउटा प्रतिनिधी उदाहरण मात्र हो । विश्वव्यापी रुपमा मान्छेले रोजगारी गुमाएको, अब गुमाउनुपर्ने अवस्था आउने विभिन्न तथ्याङ्कहरु विश्लेषण गर्न थालिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको जनाएको छ । आइएलओका अनुसार अहिले नै पूर्ण र आंशिकरूपमा गरी २ अर्ब ७० करोड कामदार प्रभावित भइसकेको छ । विश्वको तथ्यांक हेर्दा काम गर्ने जनशक्तिको यो तीन चौथाइभन्दा पनि बढी संख्या हुन आउँछ । एक्लो अमेरिकामा नै ४३ प्रतिशत मानिस बेरोजगार हुन सक्ने प्रतिवेदनहरुमा जनाइएको छ । नेपालको मात्र होइन । विश्वकै अर्थतन्त्रमा यो माहामारीले यति ठूलो समस्या ल्याउला कि सायदै कसैले अनुमान गरेका छन् । यो विपद कहिलेसम्म रहन्छ भन्ने कुनै निश्चित छैन । माहामारी कहिले रोकिएला अनि पुन : पुरानै अवस्थामा सबैक्षेत्र फर्कने वातावरण बन्ला भन्ने यतिबेला सबैको चासो छ । तत्कालै यो माहामारी अन्त्य नहुने देखिएको छ ।

नेपालमा युवाहरु विशेषगरी रोजगारीका लागि विदेशमा छन् । कतिपय त कोरोनाका कारण काम छाडेर घर फर्किएका छन् । काम छाडेर अहिले स्वदेश फर्केकाहरु आफ्नो काममा फर्कन सकेनन् भने बेरोजगारीका विभिन्न समस्याहरु सिर्जना हुनेछन् । सरकारले बेरोजगारी हुनेलाई अवसर दिनसक्ने अवस्था पनि छैन । स्वरोजगारीका लागि आर्थिक रूपले आत्मनिर्भर बनाउन देश घरेलु, साना एवं मझौला उद्योगहरूलाई संरक्षण आवश्यकता पर्द । नेपालमा सरकारका तर्फबाट केही सहयोग बाहेक अन्य स्वरोजगारको अवस्था ल्याउनसक्ने खासै उल्लेखनीय काम भएको पाइदैन । लक डाउनका कारण अहिले विभिन्न कार्यस्थलहरु बन्द अवस्थामा छन् । मकवानपुरका होटल व्यवसायीको मात्रै समस्या सुन्ने हो भने धेरै होटल अब सधैंका लागि बन्द हुने अवस्थामा छन् । अरु विभिन्न नीजि क्षेत्रबाट स्वरोजगार भइरहेकाहरुलाई आर्थिक सङ्कटका कारण अब निकै पछाडी धकेलिने अवस्था आउँनसक्छ । यो बेलामा समस्यामा पर्ने, बेरोजगारी हुने, भोकमरीको सामना गर्नुपर्ने अवस्थाका नागरिकलाई उचित सम्बोधन गर्ने नीति, राहत प्याकेज सरकारका तर्फबाट अर्थात् राज्यको तर्फबाट आउँनुपर्छ । स्थानीय, प्रदेश र संघीय सरकारले माहामारीका कारण समस्यामा परेका आफ्ना नागरिकको भविष्यका विषयमा सोच्नुपर्छ । लक डाउन खुकुलो बनाइएर मात्र जनताको माग वा चाहना सुनेको भनेर भन्न मिल्दैन । खुकुलो बनाइएपछि सङ्क्रमण झन् फैलदो अवस्थामा पुगेको छ । मानिसमा रहेका त्रास हटाउन सक्नु पनि पर्दन । यो बेलामा सरकारले सोच्न सकेन भने सोच्ने कहिले ?

आज असार १४ गते मध्यस्थता मिडियाको  प्रकाशन मध्यस्थता साप्ताहिकमा प्रकाशित सम्पादकीय

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*