भारत र पाक युद्धविरामः कार्यान्वयनमा चुनौती

विदुर–जम्मूकश्मीरको पहलगाम घटनापछि एकअर्काविरुद्ध आक्रमण थालेका भारत र पाकिस्तानबीच अमेरिकाको पहलमा युद्धविरामको सहमति भएको छ । दुवै देशका सैन्य महानिर्देशकबीच शनिवार भएको टेलिफोन वार्तामा युद्ध रोक्ने सहमति भएको हो ।
दुवै पक्षले जमिन, आकाश र समुद्र सबैतिरको गोलाबारी र सैन्य कारबाही रोक्ने तथा कुनै तटस्थ ठाउँमा वार्ता गर्न सहमत भएको जानकारी दिएका थिए । अर्को वार्ता सोमवार हुने भनिएको छ । तर, सीमापार ड्रोन हमला र गोलाबारी भइरहेका कारण युद्धविरामको कार्यान्वयनमा चुनौती देखिएको छ ।
दुई देशले युद्धविराम भएको भने पनि केही घण्टामै शनिवार बेलुकी जम्मुकश्मीरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका बताएका थिए । लगत्तै भारतले दुई देशबीच भएको युद्धविरामको सहमति पाकिस्तानले राति उलङ्घन गरेको आरोप लगाएको छ ।
भारतका विदेश सचिव विक्रम मिश्रीले शनिवार राति नै विशेष प्रेस ब्रिफिङ गरी शनिवार अपराह्न दुई देशबीच भएको सहमतिलाई पाकिस्तानले उलङ्घन गरेको प्रतिक्रिया दिएका छन् । पाकिस्तानका तर्फबाट सहमतिको उलङ्घन भएको र यो एकदमै निन्दनीय रहेको उनको भनाई छ ।
विदेश सचिव मिश्रीले भारतीय सेनाले जवाफी कारबाही गर्नुका साथै सीमामा आक्रमणसँग जुधिरहेको बताए । पाकिस्तानले जम्मूकश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोलाबारी र ड्रोन आक्रमण गरेको भारतको आरोप छ । तर, भारतको पछिल्लो आरोपमा पाकिस्तानको टिप्पणी वा प्रतिक्रिया आइसकेको छैन ।
त्यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानकाबीच तत्काल र पूर्ण युद्धविराम गर्ने सहमति बनेको जानकारी दिएका थिए । भारतका विदेश सचिव मिश्रीले पनि त्यस्तो जानकारी दिँदै दुवै पक्षबीच बेलुका पाँच बजेपछि नै गोलाबारी र सैन्य कारबाही रोक्ने सहमति भएको बताएका थिए ।
गत अप्रिल २२ तारिखमा जम्मूकश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि दुई देशबीच तनाव चुलिएको थियो ।
आरोप प्रत्यारोपमा भारत–पाकिस्तानः
भारत र पाकिस्तान दुवैले एक अर्कालाई युद्ध विराम भङ्ग गरेको आरोप लगाएका छन् । भारतीय विदेशमन्त्री विक्रम मिस्रीले भारत अधीनस्थ काश्मीरमा विस्फोटको आवाज सुनेको बताए । उनले बारम्बार युद्धविराम उल्लङ्घन भएको आरोप समेत लगाए ।
त्यसको केही समयपछि नै पाकिस्तानी विदेश मन्त्रीले आफूहरू युद्ध विरामको पक्षमा अडिग रहेको बताउँदै भारतले कुनै स्थानमा उल्लङ्घन गरेको आरोप लगाए । यी दुई देशबीच पछिल्लो चार दिन यता भएको झडप दशकमै सबै भन्दा प्रतिकुल झडप थियो ।
२२ अप्रिलका दिन कश्मीरको पहलगममा आतङ्कवादी हमला भएपछि यसको विरुद्धमा गत साता भारतले आक्रमण सुरु गरेको थियो । यस क्रममा धेरै मिसाइल तथा ड्रोन आक्रमण भएको थियो । पाकिस्तानले पहलगाम घटनामा आफ्नो कुनै भूमिका नभएको दाबी गरेको थियो ।
दुवै देश एक आपसमा युद्धको नजिक देखिएकै समयमा एकै पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत आफ्नो देशको मध्यस्थतामा युद्ध विराम भएको उल्लेख गरेका थिए । त्यसको केही समयपछि नै भारतीय विदेश मन्त्रीले युद्धविराम भएको बताउँदै यो सहमति गराउने कुरामा तीन दर्जन देश समावेश भएको समेत बताए ।
उनले भारतीय सेनालाई युद्ध विरामको बारे पूर्ण जानकारी दिइसकेको समेत बताए । त्यसको केही समय पछि नै पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले युद्ध विरामका लागि पाकिस्तान तयार भएको बताए ।
त्यसको केही घण्टापछि नै काश्मीरमा विस्फोटको आवाज सुनिएको बिबिसीले जनाएको छ । कश्मीरका् विषयमा भारत पाकिस्तानवचि लामो समयदेखि विवाद रहदै आएको थियो ।