चीन र अमेरिकाबीच भयो सम्झौता

वाहिर सोचेजस्तो तिक्तता नभएको दावी
लोकखबर
२९ बैशाख २०८२, सोमबार १७:१६

विदुर– शक्ति सम्पन्न दुई देश अमेरिका र चीनबीच सम्झौता भएको छ । स्विट्जरल्याण्डको जेनेभामा जेनेभामा दुई दिनको वार्तापछि दुई देशबीच व्यापारका पक्षमा सम्झौता भएको हो ।
अमेरिका र चीनबीच केहीसमयदेखि व्यापार युद्ध चलिरहेको थियो । यो सम्झौतालाई दुबै देशको लागि ठूलो जित मानिएको छ । ह्वाइट हाउसले विज्ञप्ति निकालेर चीनसँग व्यापार सम्झौता भएको घोषणा गरेको हो ।
यद्यपि ह्वाइट हाउसले यसको विवरण भने दिएको छैन् । चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङले सोमबार जेनेभामा संयुक्त वक्तव्य जारी गरिने बताए ।
यसैबीच चिनियाँ उपवाणिज्यमन्त्री ली चेङगाङले यो विश्वका लागि खुसीको खबर भएको बताएका छन् । अमेरिकी अधिकारीहरूले यसलाई व्यापार घाटा कम गर्ने सम्झौताको रूपमा वर्णन गरे ।
चिनियाँ अधिकारीहरूले दुई पक्षबीच महत्त्वपूर्ण सहमति भएको र नयाँ आर्थिक वार्ता सुरु गर्न सहमत भएको बताए । गत महिना ट्रम्पले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएका थिए ।
त्यसको बदलामा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत सम्मको कर लगाएको थियो । जसका कारण विश्वका दुई ठूला अर्थतन्त्रहरू बीचको वार्षिक ६०० अर्ब डलरको व्यापार लगभग बन्द भएको थियो ।
मतभेद सोचे जस्तो थिएनः अमेरिका
’दुई पक्षहरू धेरै छिटो सम्झौतामा पुग्न सक्षम हुनुले के देखाउँछ भने मतभेदहरू पहिले सोचेजस्तो ठूलो थिएनन्,’ अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले पत्रकारलाई भनेका छन् । अमेरिका र चीन दुवैले १४५ प्रतिशत अमेरिकी कर र १२५ प्रतिशत चिनियाँ कर घटाउने बारेमा कुनै सम्झौता भए नभएको भने उल्लेख गरेनन् ।
ट्रम्पले एक हप्ता अघि चीनमाथि लगाइएको कर घटाउन सक्ने संकेत गरेका थिए । उनले हालको भन्सार दर धेरै भएर विश्वका दुई ठूला अर्थतन्त्रहरूले एकअर्कासँग व्यापार गर्न बन्द गरेका स्वीकारेका थिए ।
ट्रम्पले एनबीसीको एक कार्यक्रममा आफूले जुनसुकै बेला चीनमाथिको कर घटाउन सक्ने बताएका थिए । ट्रम्पले चीनको अर्थतन्त्र अहिले समस्यामा रहेको पनि बताएका थिए ।
त्यहाँको कारखाना सञ्चालन २०२३ पछि सबैभन्दा खराब अवस्थामा आएको र निर्यात अर्डरमा पनि उल्लेखनीय गिरावट आएको उनले जनाएका थिए ।
ट्रम्प पुनः निर्वाचित भएपछि चीनसँग पहिलो वार्ता
दोश्रो पटक निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि यो बैठक वरिष्ठ अमेरिकी र चिनियाँ आर्थिक अधिकारीहरू बीचको पहिलो प्रत्यक्ष वार्ता थियो । ट्रम्पले पदभार ग्रहण गर्ने बित्तिकै उनले विश्वभर कर युद्ध सुरु गरे ।
उनले संयुक्त राज्य अमेरिकामा फेन्टानिल संकटलाई राष्ट्रिय आपतकाल घोषणा गरे र फेब्रुअरीमा चिनियाँ सामानहरूमा २० प्रतिशत कर लगाए । त्यसपछि अप्रिलमा ट्रम्पले चिनियाँ आयातमा ३४ प्रतिशत पारस्परिक भन्सार कर लगाए ।
त्यसपछि लगाइएका भन्सार शुल्कका कारण भन्सार दरहरू तीन अंकमा धकेलिए जसले गर्दा लगभग ६०० अर्ब डलरको द्विपक्षीय व्यापार भर्चुअल रूपमा ठप्प भयो । अमेरिका र चीनले एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत भएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै देशले आगामी ९० दिनका लागि आफ्नो पारस्परिक कर ११५ प्रतिशतले घटाउने बताएका हुन् । भन्सार शुल्कको बारेमा अमेरिका र चीनबीच स्विट्जरल्याण्डमा वार्ता भएको थियो ।
छलफलपछि सोमबार यो सम्झौताको घोषणा गरिएको हो । बेसेन्टले वार्तालापलाई उत्पादक र रचनात्मक भनेर वर्णन गरे ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानहरूमा भारी कर लगाएपछि दुई देशबीचको यो पहिलो बैठक हो । ट्रम्पले चिनियाँ आयातमा १४५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएका थिए भने चीनले केही अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएको छ ।
भारी शुल्कले वित्तीय बजारमा उथलपुथल निम्त्याएपछि विश्वव्यापी मन्दीको डर बढाएको थियो । अब चिनियाँ आयातमा अमेरिकी भन्सार कर ९० दिन अर्थात तीन महिनाका लागि ३० प्रतिशतमा घटाइनेछ भने अमेरिकी आयातमा चिनियाँ भन्सार कर १० प्रतिशतमा घटाइनेछ । (एजेन्सीहरुको सहयोगमा)