पांचसय र एक हजारको नयां नोट छापिने

कुन गर्भनर कस्ता थिए?
लोकखबर
२०८२ जेष्ठ ८, बिहीबार २२:४५

विदुर– नयां गर्भनरले कार्यभार लिएसंगै नयां नोट छापिने भएको छ । पांचसय र एक हजारका नयां नोट छापिने निर्णय भएको छ ।
नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई राष्ट्र बैङ्कले खुलेर सहयोग गर्ने बताएका छन् । बालुवाटारस्थित बैङ्कको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले राष्ट्र बैङ्कको काम सरकारको वित्त नीतिमा सहयोग गर्ने भएको स्पष्ट पारे ।
राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्दै सरकारको काममा सघाउने उनले प्रष्ट पारे । ‘वित्त नीतिबाट जे कुराहरू तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ’, उनले अगाडि भने ।
उनले गुणस्तरीय सेवाको लागि राष्ट्र बैङ्कको क्षमता बढाउन आवश्यक रहेको बताए । ‘धेरै नियम बनाएर कसिलो बनाउने भन्दा पनि सुपरिवेक्षण क्षमता बढाउनुपर्नेछ, यसका लागि राष्ट्र बैङ्कको क्षमता बढाउनुपर्नेछ’, उनले भने ।
बैङ्क तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई राष्ट्र बैङ्कले प्राथमिकतामा राख्ने उनले बताए । यस विषयमा राष्ट्र बैङ्कले विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरेर निर्णय लिने उहाँले प्रष्ट पारे । ‘म आफैँ मात्र कुनै प्रस्ताव ल्याएर यसै गरौँ भन्ने पक्षमा छैन, सबै सरोकारवाला निकायहरूसँग छलफल गरेर जान्छौँ’, उनले थपे ।

गर्भनर डा. पौडेलले ५ सय र १ हजार दरका बैङ्क नोट छपाइसँग सम्बन्धित निर्णयमा पहिलो हस्ताक्षर गरेका छन् । पदभार ग्रहण अगाडि उनले अर्थमन्त्रि विष्णुप्रसाद पौडेलसंग भेट गरेका थिए ।
को को भए त राष्ट्र बैंकमा हालसम्म गभर्नरहरु?
लामो रस्साकस्सीबिच नेपाल राष्ट्र बैंकले १८औँ गभर्नर पाएको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको गत २०८१ साल चैत २५ गते कार्यकाल सकिएर राष्ट्र बैंकबाट बिदा भए पनि लामो समय गभर्नर नियुक्त हुन सकेको थिएन ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार बहालवाला गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अगावै गभर्नर नियुक्त हुनुपर्ने प्रावधान रहेको छ । त्यो भनेको २०८१ साल फागुन २५ मै नयाँ गभर्नरुको नाम टुंगो लागिसक्नुपर्ने थियो ।
यद्यपि, गभर्नर जस्तो संवेदनशील पदमा समेत राजनीति खिचातानी हाबी हुँदा झण्डै २ महिना कामुको भरमा राष्ट्र बैंक चल्न पुग्यो । यसबीचमा गभर्नरका रुपमा विभिन्न नामहरु चर्चामा आएका थिए ।
एकपछि अर्को नाममा वर्तमान सत्ता गठबन्धनमा सहमति हुन नसक्दा अन्ततः कांग्रेसले अगाडि सारेका डा. विश्वनाथ पौडेलले १८औँ गभर्नरमा बाजी मारे । मंगलबार वेलुकी बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिको सिफारिसका आधारमा पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।
गभर्नर पौडेलले बुधबार शपथसहित पदभार समेत ग्रहण गरिसकेका छन् । २०१३ साल वैशाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैंकले आफ्नो सात दशकको इतिहासमा हालसम्म १७ गभर्नरको बिदा गरिसकेको छ ।
प्रजातन्त्र स्थापनाको ६ वर्षपछि स्थापना भएको राष्ट्र बैंकले १७ सालको राजनीति परिवर्तन, ३० वर्षे पञ्चायती व्यवस्था, २०४६ सालको राजनीतिक परिवर्तन हुँदै २०६२र०६३ को राजनीतिक परिवर्तनसँगै हालसम्म आइपुग्दा विभिन्न शासन कालमा विभिन्न क्षेत्रबाट आएका व्यक्तिलाई गभर्नरको रुपमा भित्राएको छ ।
हालसम्म को–को भए त नेपाल राष्ट्र बैंकको गभर्नर? उनीहरुको कार्यकाल कति रह्यो र कसरी नियुक्त गरियो?
हालसम्मका गभर्नरहरु ?
१. हिमालय शमशेर राणा
नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बन्ने सौभाग्य पाउने व्यक्ति हुन् हिमालय शमशेरजबरा । उनी २०१३ साल वैशाख १४ गतेदेखी २०१७ माघ २५ गतेसम्म जम्मा २ वर्ष ८ महिना राष्ट्र बैंकको गभर्नर भएका थिए ।
त्यसअघि उनी २००७ सालको राजनीतिक परिवर्तनपछि ५ वर्ष देशको पहिलो अर्थसचिवको रुपमा अर्थमन्त्रालय तथा अन्य निकायहरुको समेत संस्थापकको रुपमा काम गरेका थिए । पहिलो गभर्नरका रुपमा उनले धेरै सुधारको कामको सुरुवात समेत गरेका थिए ।
भारतीय मुद्राको मात्र प्रचलनमा ल्याइने तराई क्षेत्रमा समेत नेपाली मुद्रा लागू गरि तराइवासीलाई नेपाली अर्थतन्त्र राज्यको अभिन्न अंग रहेको अनुभव समेत गराएका थिए । राणा धेरै निकायहरुमा संस्थापकको रुपमा काम गरेपनि राष्ट्र बैंकको पहिलो गभर्नरका रुपमा नै परिचित रहेका थिए ।
राणालाई राजा महेन्द्रले नै नियुक्त गरेका थिए । तर, २०१७ सालमा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेर शासन सत्ता आफ्नो हातमा लिएपछि उनी पनि बर्खास्तीमा परेका थिए ।
त्यसपछि उनले आफ्नै नामबाट हिमालयन बैंक लिमिटेडको स्थापना गरेका थिए । राणाको २०७९ साल माघमा निधन भएको थियो ।
२. लक्ष्मीनाथ गौतम
नेपाल राष्ट्र बैंकको दोस्रो गभर्नरका रुपमा लक्ष्मीनाथ गौतमले कार्य गरेका थिए । राजा महेन्द्रले २०१७ साल पुस १ गते आफ्नो हातमा शासनसत्ता लिएपछि उनलाई दोस्रो गभर्नरका रुपमा तत्कालीन राजा महेन्द्रले नियुक्त गरेका थिए ।
गौतमले राष्ट्र बैंकको गभर्नरको रुपमा २०१७ साल माघ २६ गतेबाट २०२२ असार ३ गतेसम्म काम गरेका थिए । जननिवार्चित सरकारलाई अपदस्त गरि महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएको सुरुवाती समयमा उनी गभर्नर बनेका थिए ।
उनले त्यस समयमा राजा महेन्द्रका नाममा छापिएका पैसाहरुमा हस्ताक्षर गर्ने गरेका थिए ।
३. प्रद्युम्नलाल राजभण्डारी
नेपाल राष्ट्र बैंकका तेस्रो गभर्नरका रुपमा काम गर्ने व्यक्ति हुन् प्रद्युम्नलाल राजभण्डारी । उनले गभर्नर लक्ष्मीनाथ गौतमको कार्यकाल सकिएको भोलीपल्ट अर्थात २०२२ असार ४ गतेबाट नियुक्त भई २०२३ साउन १९ गतेसम्म राष्ट्र बैंकको कार्यभार सम्हाल्ने मौका पाएका थिए ।
साथै राजा महेन्द्रले सत्ता हातमा लिएर नियुक्त गरिएको कारण पनि उनले पनि राजा महेन्द्रको फोटो भएको मुद्रामा हस्ताक्षर गरेका थिए ।
४. डा. भेषबहादुर थापा
बहुआयामिक व्यक्तिको परिचय बोकेका डा. भेषबहादुर थापा नेपाल राष्ट्र बैंकले चौथो गभर्नर कार्य गरेका व्यक्ति हुन् । तत्कालीन राजा महेन्द्रका प्रिय पात्र बनेका उनी २०२३ सालदेखी २०२४ सालसम्म गभर्नरका रुपमा रहेका थिए ।
त्यसपश्चात् भने उनी अर्थसचिव, अर्थराज्यमन्त्री तथा अर्थमन्त्री समेत बनेका थिए । त्यतिमात्र होईन थापा अमेरिकाका लागि नेपाली राजदूतका रुपमा दुई कार्यकाल तथा भारतका लागि नेपाली राजदूतको रुपमा एक कार्यकाल बिताएका छन् ।
पञ्चायतकाल भरी राजपरिवारको प्रीय बनेका उनलाई २०६१ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि परराष्ट्रमन्त्री समेत बनाएका थिए । नेपालमा पञ्चायतको जग बलियो बनाउन मुख्य भूमिका खेल्ने पात्रका रुपमा रहेका थापालाई नेपालको कुटनीति र परराष्ट्रका सम्बन्धमा विज्ञका रुपमा हेरिन्छ ।
५. डा. यादवप्रसाद पन्त
नेपाल राष्ट्र बैंकका पाँचौ गभर्नर डा. यादव प्रसाद पन्त हुन् । उनी त्यसअघिको तुलनामा लामो समय गभर्नर बन्ने अवसर पाए ।
यादव गत २०२५ साल वैशाख २ गतेबाट २०३० साल वैशाख ६ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा रहेका थिए । पन्त अर्थशास्त्री तथा अर्थविदका रुपमा चिनिएका छन् ।
त्यतिमात्र नभएर आफ्ना लेख रचना मार्फत उनले नेपाली अर्थतन्त्रलाइ विश्वसामू चिनाउने काम गरेका थिए । पन्त गभर्नर मात्र नभएर जापानका लागि नेपाली राजदूत, वाणिज्य तथा जलस्रोतमन्त्री र अर्थमन्त्रीका रुपमा समेत काम गरेका छन् ।
उनी २०४० सालमा लोकेन्द्रबहादुर चन्दको मन्त्रीपरिषदमा जलस्रोत मन्त्री भएका थिए ।
६. कुलशेखर शर्मा
नेपाल राष्ट्र बैंकका छैटौँ गभर्नरका रुपमा कुलशेखर शर्माले आफ्नो कार्यकाल बिताएका थिए । उनले २०३० साल वैशाख १७ गतेबाट २०३६ साल मंसिर २६ गतेसम्म गभर्नरका रुपमा कार्य गरेका थिए ।
साथै त्यसबेला राजा महेन्द्रको फोटो अंकित नोटमा केवल हस्ताक्षर गर्दै उनले आफ्नो कार्यकाल सकाएका थिए ।
७. कल्याणविक्रम अधिकारी
नेपाल राष्ट्र बैंकको सातौँ गभर्नरका रुपमा कल्याणविक्रम अधिकारी रहेका छन् । उनको कार्यकाल २०३६ साल जेठ ३० गतेदेखि २०४१ मंसिर २३ गतेसम्म रहेको थियो ।
तत्कालीन राजा वीरेन्द्रको पालामा गभर्नर बनेका कारण उनले वीरेन्द्रको फोटो अंकित नोटमा हस्ताक्षर गरेका थिए ।
८. गणेशबहादुर थापा
राष्ट्र बैंकका आठौँ गभर्नर हुने गणेशबहादुर थापा । गभर्नरका रुपमा २०४१ साल मंसिर २३ गतेबाट २०४७ जेठ ८ गतेसम्म कार्यकाल रहेको थियो ।
उनले राजा वीरेन्द्रको तस्वीर अंकित नोटमा आफ्नो हस्ताक्षर गरि कार्यकाल बिताएका थिए ।
९. हरिकृष्ण त्रिपाठी
नेपाल राष्ट्र बैंकका नवौं गभर्नर भएका व्यक्ति हुन् हरिकृष्ण त्रिपाठी । उनले २०४७ साल साउन २६ गतेबाट २०५१ माघ ३ गतेसम्म गभर्नरको रुपमा कार्यभार सम्हालेका थिए ।
उनले तत्कालीन राजा वीरेन्द्रको नोटमा अंकित फोटोमा आफ्नो हस्ताक्षर गरेका थिए ।
१०. सत्येन्द्रप्यारा श्रेष्ठ
मुलुकको दशौं गभर्नरका रुपमा काम गर्ने अवसर पाएका व्यक्ति हुन् सत्येन्द्रप्यारा श्रेष्ठ । उनले २०५१ साल माघ महिनाको ४ गतेबाट २०५६ गतेसम्म राष्ट बैंकको गभर्नर पदको कुर्सी सम्हालेका थिए ।
उनले पनि तत्कालीन राजा वीरेन्द्रकै फोटो अंकित नोटमा हस्ताक्षर गरेका थिए ।
११. डा. तिलकबहादुर रावल
राष्ट्र बैंकका ११ औँ गभर्नर बन्ने व्यक्ति हुन् डा. तिलकबहादुर रावल । उनले २०५६ साल माघ ४ गतेबाट २०५७ भदौ १२ गतेसम्म पहिलो पटक गभर्नर नियुक्त भएका थिए ।
त्यतिबेला रावललाई भ्रष्टाचारको मुद्धा लागेको थियो । भ्रष्टाचारमा मुछिएपछि उनी बर्खास्त भए ।
रावलको बर्खास्तीपछि दिपेन्द्रपुरुष ढकाललाई उनको ठाँउमा नियुक्त गरिएको थियो । साथै पछि उनलाई फेरि पुनर्वहाली गरिएको थियो ।
उनलाई लागेको मुद्धाको छिनोफानो भएसँगै पुनः उनलाई २०६१ साल माघ ४ गतेसम्म राष्ट्र बैंकको ११ औँ गभर्नरको रुपमा रहेका थिए । तर, उनले आफ्नो कार्यकालमा दुई राजाको शासन रहेको थियो ।
२०५८ साल जेठ १९ गते भएको दरवार हत्या काण्डपछि ज्ञानेन्द्र वीरेन्द्रको उत्तराधिकारीका रुपमा आएका थिए ।
१२. दिपेन्द्रपुरुष ढकाल
मुलुकको १२ औँ गभर्नरका रुपमा दिपेन्द्रपुरुष ढकाललाई नियुक्त गरिएको थियो । ११औँ गभर्नरका रुपमा रहेका तिलकबहादुर रावललाई आर्थिक अनियमितताको मुद्धा लागेपछि उनलाई नियुक्त गरिएको थियो ।
उनको कार्यकाल २०५७ साल भदौ १३ गतेबाट २०५८ वैशाख ४ गतेसम्म रहेको थियो । तर पछि पुनः तिलकबहादुर रावललाई पुनर्वहाली गरिएपछि ढकाललाई अन्य स्थानमा स्थानान्तरण गरिएको थियो ।
१३. विजयनाथ भट्टराई
नेपाल राष्ट्र बैंकका १३औँ गभर्नर हुन् विजयनाथ भट्टराइ । उनी गणतान्त्रिक नेपालका पहिलो गभर्नरका रुपमा समेत उनले आफ्नो कार्यभार सम्हालेका थिए ।
उनले २०६१ साल माघ १८ गतेदेखि २०६५ माघ २ गतेसम्म सम्हालेका थिए । उनको कार्यकालमा कायम मुकायम गभर्नर कृष्णबहादुर मानन्धरले पनि नोटमा हस्ताक्षर गरेका थिए ।
उनलाई गभर्नर रहेको अवस्थामा रहेकै बेलामा भष्ट्रचारको आरोप लागेको थियो । त्यसैक्रममा उनलाई बर्खास्त समेत गरियो साथै छानविन पश्चात उनलाई पुनर्ववहाली गरिएको थियो । समग्र उनको कार्यकाल २०६६ माघ २६ गतेसम्म रहेको थियो ।
१४. दिपेन्द्रबहादुर क्षेत्री
१४औँ गभर्नर हुन् दिपेन्द्रबहादुर क्षेत्री । राष्ट्र बैंकका १३औँ गभर्नरका रुपमा रहेका विजयनाथ भट्टराई वर्खास्त हुनासाथ उनलाई नियुक्त गरिएको थियो ।
उनको कार्यकाल २०६५ साल माघ २ गतेबाट २०६६ साउन ११ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा रहेका थिए । त्यतिमात्र नभएर क्षेत्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भएका थिए भने क्षेत्री अर्थविद् समेत हुन् ।
१५. डा युवराज खतिवडा
डा. युवराज खतिवडा मुलुकको १५औँ गभर्नर हुन् । खतिवडाले २०६६ साल चैत ९ गतेबाट २०७१ साल चैत ५ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा रहेका थिए ।
उनले कोलम्बो यूएनडीपी रिजनल सेन्टरमा तीन वर्ष वरिष्ठ अर्थशास्त्रीको रुपमा काम गरेका थिए । उनी गभर्नर हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भएर समेत काम गरेका थिए ।
शैक्षिक योग्यताको हिसावमा खतिवडाले दिल्ली स्कुल अफ इकोनोमिक्स, दिल्ली विश्वविद्यालयबाट २०४७ साल मा वित्तीय अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए । विभिन्न महत्वपुर्ण पदमा रहेर काम गरिसकेका खतिवडा हाल प्रधानमन्त्री केपी शर्माओलीको आर्थिक तथा विकास सल्लाहकार रहेका छन् ।
उनी यसअघि अमेरिकाका लागि नेपाली राजदूतका रुपमा समेत काम गरिसकेका छन् । उनी अर्थमन्त्री समेत भइसकेका छन् ।
१६. डा चिरञ्जीवी नेपाल
आफ्नो कार्यकालमा चुनौतीपूर्ण अवस्था भोगेका डा. चिरञ्जीवी नेपाल नेपाल राष्ट्र बैंकको १६औँ गभर्नर हुन् । २०७१ साल चैत ५ गतेबाट २०७६ साल चैत २४ गतेसम्म गभर्नरका रुपमा रहेका थिए ।
उनको कार्यकालमा २०७२ सालको विनाशकारी महाभूकम्प र त्यसपछिको नाकाबन्दीसमेत देशले भोगेको थियो । गभर्नर नियुक्त हुनुअघि उनी सुशील कोइराला प्रधानमन्त्री भएका बेला आर्थिक सल्लाहकारको रुपमा समेत काम गरेका थिए ।
अर्थशास्त्री रहेका उनी अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार, धितोपत्र बोर्डका कार्यकारी अध्यक्षलगायत विभिन्न संघ संस्थाहरुमा समेत संलग्नता रहेको थियो ।
१७. महाप्रसाद अधिकारी
ऋवधि रहेसम्म उतारचढापूर्ण वातावरणमा आफ्नो कार्यकाल बिताएका पात्र हुन् नेपाल राष्ट्र बैंकका १७औँ गभर्नर महाप्रसाद अधिकारी । २०७६ साल चैत २६ गते गभर्नर नियुक्त भएका उनी २०८१ साल चैत २५ गते आफ्नो पूर्ण कार्यकाल बिताएर राष्ट्र बैंकबाट बिदा भएका हुन् ।
केपी शर्माओली यसअघि प्रधानमन्त्री रहेका बेला उनी गभर्नर नियुक्त भएका थिए । तर, संसद् विघटनपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बने साथै अर्थमन्त्रीमा माओवादीका जनार्दन शर्मा आएका थिए ।
सुरुबाटै अर्थमन्त्रीसँग मनमुटावका कारण उनलाई सरकारले निलम्बन समेत गरेको थियो । त्यस्तै उनी गभर्नर रहेकै बेला नेकपा एमालेको संगठित सदस्य रहेको भन्दै आलोचनासमेत भएको थियो । कोरोना कालमा गभर्नर रहेका महाप्रसाद अधिकारी गभर्नरका रुपमा चर्चामा आफ्नो कार्यकाल बिताएका थिए ।
१८. डा. विश्वनाथ पौडेल
नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर वन्न सफल पात्र हुन् डा. विश्वनाथ पौडेल । यसअघि २०८१ साल फागुनमै गभर्नरको टुंगो लागिसक्नुपर्नेमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्त गरेको हो ।
उनी गत निर्वाचनमा चितवन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले चुनाव जित्दा उनी तेस्रो भएका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणादेउवाको विश्वासपात्र रहेका कारण उनलाई गभर्नर नियुक्त गरिएको चर्चाले व्यापकता पाएको छ । यद्यपि उनको कार्यकाल गुण र दोश भने हेर्न भने बाँकी नै छ ।


सर्वाधिक रुचाइएको