‘हेटौंडा स्थायी राजधानी हो, अनुमोदन गर्न मात्र बाँकी’

‘विपक्षी दलका नेताको भूमिका भएन, राजधानी सार्न खोजिए दुर्भाग्य’
शिव चौलागाईं
६ श्रावण २०७६, सोमबार १४:३७

ध्रुवप्रसाद चौलागाईं,मकवानपुरका सशक्त सामाजिकअभियन्ता हुन् । चौलागाईं पछिल्लो समय मकवानपुरको हेटौंडालाई प्रदेश ३ को राजधानी कायम गराउँने दबाबमूलक अभियानको नेतृत्व गरिरहेका छन् । जनसरोकार केन्द्र मकवानपुर नामक संस्थामार्फत उनी मकवानपुरको साझा सरोकारको सवालमा लागिपरेका छन् । पुनरावेदन बार एशोसिएसन हेटौंडाका पूर्व अध्यक्ष समेत रहेका चौलागाईंको ध्यान यतिबेला हेटौंडालाई राजधानी कायम गराउँने कसरी भन्नेमा छ । यसका लागि उनी नेतृत्वको केन्द्रले मुख्यमन्त्री, प्रदेश सांसद लगायतका ध्यानाकर्षण, दबाबमूलक विभिन्न अभियान सञ्चालन गरिसकेको छ । तर हेटौंडा प्रदेश ३ को स्थायी राजधानी कायम हुन भने सकिरहेको छैन । सामाजिक, राजनितीक अभियन्ता चौलागाईंसंग लोकखबर डटकमका शिव चौलागाईंले कुराकानी प्रदेश राजधानी कायम गराउँन जनसरोकार केन्द्र अभियानका विषयमा केन्द्रित भएर कुराकानी गरेका छन् ।

मकवानपुरको हेटौंडालाई प्रदेश ३ को अस्थायी राजधानी तोकिएपछि अब अस्थायी होइन की स्थायी राजधानी हेटौंडा कायम गरिनुपर्छ भनेर यहाँले विभिन्न खालका अभियान चलाउनुभयो । तर प्रदेश संसदमा राजधानीका विषयमा छलफल भएको छैन । अहिले राजधानीका विषयमा अन्यौलता छ । तपाईलाई के लाग्छ किन यस्तो अन्यौल भइरहेको होला ?
सबैभन्दा पहिला हामीले बुझ्नुपर्ने कुरा के छ भने प्रदेशको अस्थायी राजधानी भनेर जसरी कुराहरु आइराखेको छ संविधानको धारा २८८ को २ ले प्रदेश राजधानी तोक्नका लागि दुई तिहाई बहुमत चाहिने व्यवस्था गरेको छ । प्रदेश राजधानी तोक्ने बेलामा के समस्या भयो भने सबैले सबै ठाउँमा राजधानी मागे । उपयुक्त ठाउँ कुन हो त्यो ठाउँमा तोकिदिने र त्यसलाई दुई तिहाईले पुन :  अनुमोदन गर्ने भन्ने प्रावधान राखियो तर यसभित्र कुुरा के छ भने यो दुई तिहाईले संविधान नै परिवर्तन गर्नसक्छ, केन्द्रको राजधानी सार्नसक्छ, प्रदेशको राजधानी सार्नसक्छ। यो त सधैंभरी गर्न सकिने कुरा हो । भनेपछि दुई तिहाईले सार्ने भनेको कुरा नै जुन छ यो स्थायी राजधानी हेटौंडा तोकिएको भन्ने कुरा हो । सात वटा प्रदेशमा जुन मुकाम तोकियो यो स्थायी राजधानी नै हो । मानौं, हेटौंडामै बसिराखेको छ तर यसलाई सार्नुपर्यो भने पनि दुई तिहाई चाहियो, अर्को कुनै जिल्लामा गयो र त्यहाँबाट सार्नुपर्यो भनेपनि दुई तिहाई नै चाहियो भनेपछि कुरा त एउटै भयो नि । यसर्थ मकवानपुरमा राज्यले तोकेको राजधानी स्थायी नै हो । राजधानीलाई स्थायी गर्ने भन्ने खालका जुन कुराहरु गरिएको छ संविधानमा पहिलो पटक भएका कारणले गर्दा प्रदेशसभाले अनुमोदन गरिदिओस् भनेर माग राखिएको हो । समानुपातिक, धेरै पार्टीहरु भएको ठाउँमा दुई तिहाई कसैको पनि पुग्दैन त्यस कारण हामीले जहाँ राजधानी तोक्छौं त्यहाँ नै राजधानी कायम गर्ने हो भन्ने राज्यको मनसायले गर्दा तोकिएको राजधानी हो । अहिले हेटौंडा प्रदेश ३ को स्थायी राजधानी नै हो, यसलाई अनुमोदनसम्मको कुरा हो । एकदमै सोच, विचार गरेर हेटौंडालाई राजधानी तोकिएको हो त्यस हिसाबले यो अस्थायी होइन, यो स्थायी नै हो । यो एउटा कुरा हो । अब अर्को कुरा, संविधानको धारा २८८ को २ ले दुई तिहाईले अनुमोदन गर्ने कुरा हो । राजधानी तोक्ने, बनाउँने भनेर भन्दा पनि हेटौंडामा भएको राजधानीलाई अनुमोदन गर्नेसम्म कुरा हो । हेटौंडालाई राजधानी तोक्नका लागि के सम्म कुरा प्रष्ट भएको छ भने मकवानपुर जिल्ला प्रदेश राजधानीका लागि ९० प्रतिशत ठीक दश प्रतिशत चाँही के हो भने अहिले तत्कालका लागि अर्थात् एकदेखि डेढवर्षसम्मका लागि बाटोघाटोमा हेटौंडा अलि टाढा पर्छ की भन्ने कुरा भन्दा अरु छैन । अरु जुनसुकै कुरा हेरौं, खानेपानी, ढलनिकास, राष्ट्रिय तथा अन्तराष्ट्रिय एयरपोर्ट, फास्टट्रयाक बन्दैछ, कान्तिलोक पथ विस्तारै पूरा हुदैछ । प्रदेशका सांसदहरुका कुरा सुन्दा पनि काठमाडौंबाट हेटौंडासम्म आइपुग्दा स्वास चाँही आनन्दले फेर्न सकिन्छ तर बाटो चाँही अप्ठ्यारो भयो भनेर गुनासो गरिएको छ । अरु त कुनै समस्या नै छैन । अनि हेटौंडामा भएका यी भौतिक संरचनाहरु, यति धेरै छन्, यसका बारेमा पनि कसैले नाईं भनेर भन्नसक्ने अवस्थै छैन । देशमा अहिले एउटा सानो कुरा पाइयो भनेपनि वितन्डा मच्याएर अस्थिरता गर्ने जुन खालका कुराहरु पनि देखिएका छन् यसबाट बच्नका लागि पनि । नजिकै रहेको वीरगञ्ज जुन हामीहरुको नाका छ, त्यसलाई व्यवस्थित गर्नका लागि पनि नजिकै रहेका बोर्डरहरुलाई राम्रो सुरक्षा गर्नका लागि पनि अथवा केन्द्रीय राजधानीलाई पहिलो घेराका रुपमा सुरक्षित बनाउँनका लागि पनि प्रदेशको राजधानी हेटौंडा कायम भयो भने यो देशमा धेरै कुरा राम्रो हुने र सबैको हित हुने अनि काठमाडौंको विकल्पका रुपमा हेटौंडा भएमात्रै राम्रो हुने भएकाले अस्थायीलाई स्थायी बनाउँने कुरा होइन की अहिलेको स्थायी राजधानीलाई अनुमोदन गर्ने भन्ने हाम्रो माग हो ।

अनुमोदनका लागि पनि त संसदमा छलफल हुनुपर्यो । दुई तिहाई पुग्नुपर्यो । सांसदहरुका बिचमा छलफल तथा सहमती भयो भने अनुमोदन गर्नका लागि पनि संसदमा यो विषयले प्रवेश पाउँनु पर्यो तर यसो भइरहेको छैन । प्रदेश सरकारमा राजधानीका विषयमा छलफल नै नहुनु कारण चाँही के होला ?
यसमा समस्या के भइदियो भने जतिपछि भयो हेटौंडालाई त्यति नै बुझ्दै जाने कुरा त आफ्नो ठाउँमा छ । तर समस्या के भयो भने प्रदेश राजधानीका लागि भनेर प्रदेश सरकारले पाँच-छ करोड रुपिया छुट्याएको थियो । यो रकम पनि खर्च नभई ल्याप्स हुने अवस्था भयो । कमसेकम दुई तिहाईले सार्न पर्ने भएपछि यो स्थायी राजधानी हो भनेर यहाँका प्रमुख प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री हेटौंडाकै भएकाले उहाँहरुले उठाउनुपर्ने कुरा हो । मानौं, मुख्यमन्त्रीले सक्नुभएन भनेपनि विपक्षी दलको नेताको त प्रदेश राजधानीका लागि छुट्टाइएको पैसा तुरुन्त खर्च गर भनेर भन्नुपथ्र्यो यो पक्षबाट विपक्षी दलका नेताबाट कुरा उठाइएको छैन । उहाँ आफैं पनि हेटौंडा राजधानी हो भनेर भनिरहेको अवस्थामा हेटौंडामा राजधानीका लागि पैसा खर्च गर्न के ले रोक्यो ? उहाँले राजधानीको विषय प्रवेश नपाए संसद अवरोध गर्ने जुन कुरा गर्नुभयो, राजधानीका लागि छुट्याइएको पैसा खर्च नगरे संसद अवरोध गर्छु भनेर पनि भन्नसक्नुहुन्थ्यो नि । राजधानीलाई अनुमोदन नगर्दा कर्मचारीमा पनि स्थायी मानसिकता चाँही नभएको भन्ने कुरा पनि बाहिर चर्चामा आएका हुँदाखेरी अनुमोदन चाँडो गरिदिए हुन्थ्यो भन्ने हामीलाई लागेको हो र हामीले केही समय अघि एउटा पत्रकार सम्मेलन पनि गरेका थियौं । अब हेटौंडाबाट अन्त सार्ने त कल्पनै नगरौं । सर्यो भने सबैका लागि अहितै अहितै हुन्छ । त्यसकारण यो नचाहिँदो काम सोच्नु पनि हुन्न, गर्नुपनि हुन्न । अनुमोदन गने कुरामा पनि किन ढिला गर्ने तपाईंहरुले गरिहाल्नुस् भनेर हामीहरुले अनुरोध पनि गरेका थियौं । मुख्यमन्त्रीले पनि अब यहि अधिवेशनमा यो विषय टुङ्गो लगाउँछौं भन्नुभएको छ । उहाँहरुले हेटौंडाको विकल्प सोच्नुहोला भन्ने त लाग्दैन । सोच्नुभयो भने मात्रै पनि यो त दुर्भाग्य हुनेछ । यसको परिणाम जसले दुस्साहस गर्नखोज्छ, उसैले भोग्ने कुरा हो । त्यो भविष्यको कुरा, भविष्यमै हुँदै जाला ।

भनेपछि यहाँसंग सरसर्ती बुझ्दा, विश्लेषण सुन्दा नेकपाका सांसदका पनि त्यति गम्भीर रुपमा राजधानीका विषयमा लागिपरेका छैनन्, प्रमुख प्रतिपक्षी दलले आफ्नो भूमिका सशक्त रुपमा उठाइरहेको छैन । यसमा कमजोरी चाँही दुवैतर्फको हो ?
मैले अघि पनि प्रदेश राजधानीका लागि हेटौंडा नब्बे प्रतिशत ठीक, दश प्रतिशत बेठीक भनेको चाँही बाटोघाटोको कुरा आयो नि, यहाँ एउटा दुर्भाग्य छ कान्तिराजपथको जुन ठाउँमा बाटो बनेको छैन, त्यो नबनेको बाटो चाँही प्रमुख प्रतिपक्षी दलका नेताको बानिया कन्सट्रक्सनले बाटो पनि बनाइरहेको छैन । उहाँ विपक्षी दलको नेता हुनुभएको पनि एक वर्षभन्दा बढी नै भइसक्यो । उहाँ कमसेकम क श्रेणीको ठेकेदार भनेपछि त भएको जति समान लगाउँने हो भने दुई महिनामा त जस्तो पहरो फोरेर पनि बाटो बनाउँन सक्ने अवस्था हुन्थ्यो । यसतर्फ पनि ध्यान नदिइएको कारणले गर्दा अहिले राजधानी तोक्ने कुरामा अप्ठ्यारो परिरहको छ । सांसदहरुले संसदमा ज्यान जोखिममा पारेर हामीहरु कति आउँने बाटो चाँही भएन भनिरहनुभएको छ । यो सबालमा चाँही विपक्षी दलका नेताको आफ्नै ठेकेदार कम्पनि भएको, आफैंले निर्माणको जिम्मा लिएको कुरा समयमै पूरा गरिदिनुभएको भए अलि सजिलो हुन्थ्यो, उहाँले त्यसो गरिदिनुभएन । हेटौंडालाई राजधानी बनाउँने कुरामा मकवानपुरकै सांसद चाहे सत्तापक्ष होस् चाहे प्रतिपक्ष, उहाँहरुले राजनीति गर्न थाल्नुभयो भने यो भन्दा ठूलो दुर्भाग्य मकवानपुरका लागि केही हुदैन । मकवानपुरको हेटौंडाको सवालमा एक भएर उहाँहरु खुल्ला हृदयले लाग्नुपर्छ । यसप्रति सकारात्मक हुने, सहयोग गरेर हुने कुराहरु चाँही गर्नुपर्छ भन्ने कुरा मलाई लागेको हुँदा उहाँहरुले आ-आफ्नो ठाउँबाट यो गर्दाखेरी हुन्छ र गर्नुपर्छ । अहिले प्रतिपक्षीले पनि चाँडो घोषणा गर भनेर भन्नुभन्दा अरु केही गरेको छैन । सत्तापक्षको कुरा गर्दाखेरी त मुख्यमन्त्रीबाट धेरै ठाउँमा कुरा आइसकेको छ अब हेटौंडै हुन्छ । हामीहरु सहमतीमा पुगेका छौं, अब दुई चार जना हुनुहुन्छ उहाँहरुसंग पनि किन विवाद गरौं सबैसंग सहमती गरेर मात्रै हेटौंडा तौक्ने हो, त्यो हुनाले ढिलाई भएको हो अब हुन्छ भनेर मुख्यमन्त्रीले भनिरहनु भएकाले सबैतिरबाट सकारात्मक कुरा आइरहेकाले उहाँहरुप्रति तुरुन्तै टिकाटिप्पणी गरिहाल्नुपर्ने आवश्यकता छैन । यो बाटोकै कुरा पनि, प्रदेशलाई छुट्याइएको पैसा खर्च गर्ने कुरामा पनि उहाँहरुले गर्नसक्नुपर्छ र जताततै यो कुरा उठेको पनि छ ।

राजधानी हेटौंडा कायम गर्ने सवालमा मकवानपुरबाट प्रतिनिधीत्व गर्ने सांसदहरुको पनि भूमिका चाँही भइरहेको छैन होइन त ?
मकवानपुरका सांसदहरु सकारात्मक हुनुहुन्छ । राजधानीका सवालमा हामीहरुले गरेका सबै कार्यक्रमहरुमा उहाँहरु उपस्थित हुनुभएको छ । उहाँहरु आफ्नो ठाउँमा लागिपर्नुभएको छ, गर्नुभएको पनि छ । तर यहाँ मुख्यमन्त्री पनि मकवानपुरको विपक्षी दलको नेता पनि मकवानपुरकै भएको कारणले गर्दाखेरी यहाँका सांसदले बोलेको कुरा बजारमा नआएको मात्रै हो ।

प्रदेश ३ सरकारमा नेकपाको दुई तिहाई छ । राजधानी तथा नामको निर्णय दुई तिहाईबाट हुन्छ । यो विषयमा नेकपा चुक्यो भने त्यसको क्षति नेकपालाई नै पर्ला । यसतर्फ चाँही मुख्यमन्त्री, नेकपाका नेताहरुको धारणा चाँही कस्तो छ तपाईंले बुझ्नुभएको छ त ?
तत्कालका लागि फाइदा र घाटाको कुरा भन्दा पनि राजधानी सार्ने विषयमा सोच्नै सकिदैन । यहाँबाट सरेर अन्त जान्छ, फाइदा र हानी हुन्छ भन्ने कुरा त हामी सोच्दा पनि सोच्दैनौं । हेटौंडामा तोकिइसकियो, दुईतिहाईले गर्ने भनेको अनुमोदन गर्नेमात्र हो । त्यसका कारणले यो पक्षबाट चाँही हामी छलफलै नगरौं । फाइदा र घाटाको कुरा आम रुपमा जनताले हेरिरहेकै छन् । कसले के कति गरिरहेका छन् भन्ने कुरा सबैले राम्ररी मूल्याङ्कन गरिरहेकै छन् ।

यहाँले जनसरोकार केन्द्र मकवानपुर गठन गर्दै विभिन्न सामाजिक अभियान सञ्चालन गरिरहनुभएको छ । विशेषगरी प्रदेश राजधानी हेटौंडा कायम गराउँनका लागि दबाबमूलक अभियान चलाउनुभएको छ । अभियानमार्फत मकवानपुरबासीमा एक प्रकारको जागरणको काम पनि भएको छ । तपाईंमा यो सोच कसरी आयो, अहिले कस्ता खालका कार्यक्रम गर्दै हुनुहुन्छ ?
राजधानीकै विषयमा दबाब दिने भनेर जनदबाब समूह सुरु गरेका थियौं । सुुरुमा हामीहरुले उठाएको विषय पनि राजधानी नै हो । यो राम्रो इस्यु बन्यो । यहाँका नागरिक समाज, पत्रकार, राजनीतिक पार्टी सबैले यो विषय ठीक ठाउँबाट उठ्यो अब यसलाई अब अगाडी बढाउँनुपर्छ भनेर कुरा उठाउँदै गइयो । जन दबाब समूहको नामबाट कुरा उठाइँरहँदा प्रदेश राजधानी घोषणा भयो । प्रदेश राजधानी घोषणा भइसकेपछि अब दबाब भन्दा पनि अब जनसरोकारका विषयलाई अगाडी बढाउनुपर्छ भन्ने राजनीतिक पार्टी, नागरिक समूह सबैले भनेपछि सबै पार्टीका जिम्मेवार नेतृत्व, काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, विवेकशील लगायत प्रदेश ३ मा प्रतिनिधीत्व गर्ने सबै पार्टीको प्रतिनिधीत्व जनसरोकार केन्द्रमा छ । हामीहरु मकवानपुरको हितका लागि निर्विबादित विषयलाई उठाउने भनेर सबै सरोकारवालाको रोहबरमा हामीहरुले गठन गरेका हौं । राजधानीका विषयमा हामी अलि बढी केन्द्रित भएकाले हामीहरुलाई राजधानीको कुरामात्र उठाउने संस्थाका रुपमा मानिसलाई लागेपनि हामीहरुले यो बिचमा राप्तीको तौलपुलमा गाडी रोक्दा पुलै भत्कने भयो, समस्या हुने भयो भन्ने कुरा आयो । हामीहरुले सम्बन्धित ठाउँहरुमा ज्ञापनपत्र दियौं, अहिले गाडीहरु त्यहाँ रोकिदैन, बजारको अव्यवस्थित पाकिङका विषयमा पनि हामीहरुले ध्यानकर्षण गरेका थियौं । यस समस्या केही रुपमा हल भयो भने अब केही रुपमा यी समस्या पनि हट्नेवाला छ । सार्वजनिक विषयमा मकवानपुरे नागरिकबाट हामी समक्ष आएका सवाललाई सम्बन्धित ठाउँमा गएर ध्यानकर्षण गराउँने काममा हामी लागिपरेका छौं । मकवानपुर जिल्लाको हितका लागि, सबैको लागि आवश्यक पर्ने सबैको विरोध नहुने खालका विषय हामीले उठाइरहेका छौं, हामी यसैगरी लागिपरिरहन्छौं ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*