सिभिल इन्जिनियरमा अध्ययन सुरु गरेका भीमफेदी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरसंग अन्तर्वार्ता

‘कक्षामा शिक्षकले मलाई खटाउँनुहुन्छ,पालिकामा उहाँहरुलाई मैले खटाउँछु।’

समायोजना भएर स्थानीय तहमा जाने कर्मचारीमा अनुत्तरदायी प्रवृत्ति देखिन्छ ।
शिव चौलागाईं र रामकुमार दानी
१९ भाद्र २०७६, बिहीबार १५:१७

मकवानपुरको भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुवँर स्थानीय महेन्द्र माविमा १८ महिने सिभिल इन्जिनियरिङ्मा भर्ना भएर अध्ययन गरिरहेका छन् । गत वर्ष २०७५ साल वैशाखबाट भीमफेदी गाउँपालिकामा जिम्मेवारी बहन गरिरहेका कुवँरले यसअघि विभिन्न क्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् ।

पुनरावेदन अदालत जनकपुरमा दुईवर्ष (वि.सं.२०६७-वि.सं २०६९) नासु पदबाट जागीर सुरु गरेका जीवनले सर्वोच्च अदालतमा २०६९ सालमा एक वर्ष कार्य गरे । बैदेशिक रोजगार न्यायधिकरणमा तीन वर्ष (वि.सं.२०७० -२०७३) आफ्नो भूमिका निर्वाह गरेका उनले अधिकृतमा नाम निकाली बाजुराको हिमाली गाउँपालिकामा एक वर्ष (वि.सं.२०७३-वि.सं.२०७४) आफ्नो पदीय जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरे ।
त्यसपछि कैलालीको चुरे गाउँपालिकामा (वि.सं. २०७४), पिछडिएको समुदाय उत्थान विकास समितिख(ओविसी) ललितपुरमा एक वर्ष (वि.सं.२०७४-२०७५) कार्य गरे । यसपछि जिम्मेवारीको शिलशिलामा भीमफेदी आइपुगेका उनी हाल हेटौंडा ६, हात्तिलेटबासी भएका छन् । जिम्मेवारीको शिलशिलामा मकवानपुरमा आएपछि मकवानपुरसंग निकटता बढेको र मकवानपुर बसोबासका हिसाबले मकवानपुर उपयुक्त लागेको कुवँरको भनाई छ ।

गुल्मी जिल्लाको भीरकोट गाउँपालिका वडा नम्बर ३, बर्दवासमा जन्मिएका पिता भवेन्द्र कुँवर र माता दोमन्त कुँवरको कोखबाट वि.सं.२०४५ मंशिर १५ गते जन्मिएका उनले दीपक मावि, भनभने, गुल्मीबाट एसएलसी (एसइइ) (वि.सं.२०६१), रेम्बो इन्टरनेशनल कलेज काठमाडौंबाट स्नातक (गणित, बीए), नेपाल ल क्याम्पस काठमाडौंबाट एलएलबी, त्रिभुवन विश्व विद्यालयबाट मास्टर इन पब्लिक एड्मिनिस्ट्रेशन (एमपीए) र पोलिटिकल साइन्स (एमए) त्रिभुवन विश्व विद्यालयबाट गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत कुवँरसंग सिभिल इन्जिनियर अध्ययन, गाउँपालिकाको कार्यानुभव, गाउँपालिकाबाट भइरहेका विभिन्न योजना लगायत विषयमा लोकखबर डटकमका शिव चौलागाईंरामकुमार दानीले गरेको कुराकानी : 

तपाईंले महेन्द्र माविमा १८ महिने सिभिल इन्जिनियरिङमा भर्ना भएर अध्ययन सुरु गर्नुभयो । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सिभिल इन्जिनियरिङ अध्ययन गर्न किन मन लाग्यो ?
मैले खासगरी आफूले काम गर्न थालेको अवधिको दौरानमा स्थानी तहमा काम गर्दाखेरी हामीले पूर्वाधार विकास सम्बन्धि कामहरु गर्नुपर्ने तर आफूलाई यसमा प्राविधिक ज्ञान चाँही कम भएकाले फिल्डमा जाँदा टेक्निकल समस्या आउँने । हरेक योजनाको डिजाइनिङ्, स्टमेट, मूल्याङ्कन गर्दा कठिनाई भएको महसुस विगत तीन-चार वर्षदेखि मैले गरिरहेको थिए । आफ्नो कार्यथलोमै प्राविधिक शिक्षालय रहेको हुनाले यसपाली यसमा अध्ययन गरौं र सोबाट हासिल गरेको ज्ञानले आफ्नो दैनिक कार्यमा सहजता ल्याउँनेछ भन्ने मेरो सोच हो । अर्को भनेको मेरो रिटायर्ड लाइफमा पनि आफूसंग प्राविधिक ज्ञान भएपछि आफ्नै व्यवसायिक काम गर्न पनि सकिन्छ भन्ने हो । यसैगरी भीमफेदी गाउँपालिकामा आफू बस्दा खेरी प्राविधिक शिक्षाप्रतिको नयाँ विद्यार्थीहरुको मोह र विश्वास विद्यालयप्रति बढाउँनु पनि उद्देश्य हो । प्राविधिक शिक्षा पढ्नुपर्ने रहेछ भन्ने हौसला नयाँ विद्यार्थीहरुमा बढ्छ भन्ने पनि मेरो अपेक्षा हो । बाहिरका नयाँ मान्छेलाई यसले आकर्षित गरेकै छ । उनीहरुलाई प्राविधिक शिक्षा व्यवसायिक नै रहेछ भन्ने भावना जागृत होस् भन्ने उद्घेश्यले भर्ना भएर अध्ययनरत गरिरहेको छु ।

प्रमुख कार्यकारी अधिकृतको व्यस्त दैनिकी हुन्छ नै । समय चाँही कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
विहानको कक्षा भएकाले ९ बजेसम्म म विद्यालयमा पढ्छु । एक-दुई वटा कक्षा चाँही मैले छाड्नुपर्छ । त्यो चाँही स्वअध्ययन अथवा ट्युशनमार्फत मैले व्यवस्था मिलाउँनुपर्छ ।

भविष्य निर्माणको सपना देखेका कम उमेरका विद्यार्थीहरुसंग अधिकृत भइसक्नु भएको तपाई अध्ययन गरिरहनुभएको छ, कस्तो अनुभूति भइरहेको छ ?
यसमा मलाई दोहोरो अनुभूति छ । कहिलेकाही चाँही आफैंलाई असहज जस्तो पनि लाग्छ । किनभने सिभिल इन्जिनियरिङमा पढाउँने शिक्षकहरु भनेको भूकम्प पुननिर्माणमा कार्यरत हुनुहुन्छ । गाउँपालिकामा आउँदा काममा उहाँहरुलाई मैले खटाउँनुपर्छ । आफू पढ्न जाँदा उहाँहरुले मलाई खटाउँनुहुन्छ । यो दोहोरो चरित्र भइरहेको महसुस भइरहेको छ । माध्यमिक तहको प्रधानाध्यापकलाई अन्य प्रशासनिक र शैक्षिक कुरामा मैले काम लगाउँनुपर्छ । अर्थात्, मैले निर्देशन, सहजीकरण गर्नुपर्छ । म विद्यालयभित्र छिरीसकेपछि उहाँले चाँही मलाई सहजीकरण गर्नुहुन्छ । मेरो उद्देश्य भनेको विद्यालयमा पढ्ने हो, सरहरुको उद्देश्य भनेको विद्यालयलाई नियमित सञ्चालन गर्ने हो । सुरुसुरुमा त विद्यालय शिक्षकले नै प्रमुख प्रशासकीय अधिकृत नै कक्षामा आएपछि कक्षा सञ्चालनमा असहजता महसुस गर्नुभएको थियो कि जस्तो लाग्छ । मैले त्यस्तो नसोच्नुहोस्, म विद्यार्थीका रुपमा प्रवेश गरेको छु,शिक्षक भनेको गुरु हो, गुरुलाई मैले मान्नुपर्छ । म कक्षामा बस्दा असहज मान्नुभन्दा पनि विद्यार्थी साथीहरुलाई पनि म सहजीकरण गर्ने तथा शिक्षकहरुलाई पनि आफ्नो तर्फबाट अन्य सहयोग म गर्छु भनेर मैले भने । सुरु सुरुमा १६-१७ वर्ष उमेरका विद्यार्थी साथीहरुसंग बसेर पढ्दा धेरैले मलाई हेरिरहन्थे । जिस्काए जस्तो पनि लाग्थ्यो । तर अहिले त बानी लागिसक्यो । किनभने आफूलाई मन लागेको विषयमा ज्ञान लिनका लागि उमेर, पद अथवा वातावरणले छेक्दैन भन्ने मलाई लाग्छ ।

कक्षामा अध्ययनरत विद्यार्थीहरुसंग चाँही कस्तो सम्बन्ध छ ?
कक्षामा बसेपछि सबैजना हामी विद्यार्थी हौं । कक्षामा प्रमुख प्रशासकीय पद त गएर पढ्दैन । पद त काम गर्दा देखिने हो । म त विद्यार्थीको रुपमा विद्यालय पढ्न जाने हो । मेरो विद्यार्थी परिचयपत्र छ । विद्यार्थी साथीहरुलाई म आफूलाई थाहा भएका जानकारी सहजीकरण पनि गर्ने गर्छु । सिभिल इन्जिनियरिङ पढेपछि अब लोकसेवा तयारी कसरी गर्ने, अन्य प्राविधिक क्षेत्रमा जागीर गर्नका लागि कसरी पढ्नुपर्छ, कक्षामा सरहरुबाट कसरी बढी जानकारी लिनुपर्छ भन्ने कुरामा विद्यार्थी साथीहरुलाई मैले सहजीकरण गर्ने गरेको छु ।

सिभिल इन्जिनियरिङ अध्ययनका विषयमा तपाईको व्यक्तिगत कुराकानी गरियो । अब गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा गाउँपालिकाका योजना लगायत विषयमा कुराकानी गरौं । अन्य विभिन्न ठाउँमा विभिन्न जिम्मेवारी पूरा गर्दै मकवानपुरको भीमफेदी गाउँपालिकामा जिम्मेवारी बहन गरिहँदा कस्तो अनुभूति भइरहेको छ ?
प्रमुख प्रशासकीय अधिकृतका रुपमा तीन वटा गाउँपालिकामा काम गरें । यी विभिन्न ठाउँमा काम गरिरहँदा भीमफेदीको विषयमा कुरा गर्नुपर्दा यहाँको वातावरण राजनीतिक र प्रशासनिक रुपमा दुवै परिपक्व छ । अन्यत्र भन्दा यहाँका जनप्रतिनिधीको खटाई र कर्मचारीहरुको लगनशीलता निकै राम्रो छ । यसले गर्दा मलाई यहाँ काम गर्न खुशी लागेको छ ।

तपाईंले विभिन्न ठाउँमा काम गर्नुभयो । अहिलेसम्म कार्य गरेको भोगाई कस्तो छ ?
अदालतमा काम गर्दा विशुद्घ कानूनसंग खेल्थ्यौं । त्यो बेला कानूनी कुराहरुमा हामी बढी नजिक भयौं । नेपालको कानून, प्रचलित संविधान, ऐन, नियमहरु, अपराध हुँदाको हुनसक्ने सजाय, प्रचलित कार्य विधीका विषयमा जानकारी हासिल गरियो । सात वर्षको सेवा अवधिमा अदालतमा गरेको कार्यले धेरै कुरा सिकाएको छ । पछि प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दा स्थानीय तहमा प्रत्यक्ष जनतासंग जोडिएर काम गर्न पर्छ । संघीयता कार्यान्वयनको मुख्य जिम्मेवारी स्थानीय तहमा नै छ । संघीयतालाई सफल बनाउँने अथवा असफल बनाउँने भन्ने विषय चाँही नेपालको ७५३ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र त्यहाँको जन प्रतिनिधीको नेतृत्वमा भर पर्छ । जन प्रतिनिधीले नीति कसरी बनाउँने र कसरी कार्यान्वय गर्ने भन्ने निर्धारण गर्नुपर्छ भने हामी प्रमुख प्रशासकीय अधिकृतहरुले उक्त नीति कसरी कार्यान्वयन गर्ने भन्नेमा प्रतिबद्द भएर लाग्नुपर्छ । किनभने संघीयता टिकाउने अथवा संघीयतालाई कता ढाल्ने भन्ने प्रमुख आधार भनेको अहिले स्थानीय तह र प्रदेश सरकारमा छ । स्थानीय तहमा सेवा लिन आउँने सेवाग्राहीहरु बजारमा बस्ने जस्तो कोट पाइन्ट लगाउँने सुकिलो मुकिलो भएर आउँने जस्तो हुदैन । चप्पल लगाएर आउँने हुन्छन्, जुत्ता लगाएर आउँने हुन्छन्, कोही खाली खुट्टा आउँने पनि हुन्छन् । ति सबैको भावना बोकेर, संस्थाप्रति एउटा आस्था बोकेर सेवा लिनका लागि आउँनुभएको हुन्छ । ति सबैलाई सम्बोधन गरेर काम गर्न सक्नुपर्ने हुन्छ ।

जीवन कुँवर

गाउँपालिकाले बजेट छुट्याउँदा कुन कुन क्षेत्रलाई प्राथमिकता दिएको छ ? यहाँको आवश्यकता अनुसार काम चाँही कसरी भइरहेको छ ?
यस पटक पनि ठूलो लगानी त पूर्वाधारमै छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ठेक्का सम्झौता गरेर काम सुरु गरिसकेका छौं । केही दिनमा उद्घाटन गर्ने तयारीमा हामी छौं । विद्युतीकरणका क्षेत्रमा हामीले निकै मेहनत गरेका छौं । खासगरी भीमफेदी गाउँपालिकाको वडा नम्बर ८ इपा र वडा नम्बर ९ वर्देउमा विद्युतीकरण हुन सकेको थिएन । गाउँपालिकाको पहलमा विद्युत प्राधिकरणसंग जताजताबाट हुन्छ सामान लिएर अहिले धेरै ठाउँमा विद्युतीकरण भएको छ । अहिले जति पनि काठको पोल छ, यसलाई केही वर्षभित्र विस्थापन गर्नुपर्छ भन्ने हाम्रो सोच छ । सडक क्षेत्रको कुरा गर्ने हो भने अहिले टोलटोलमा सडक पुगेको छ । हामीले गतवर्ष देखि नै तीन वटा सडकलाई रणनीतिक रुपमा काम गरिरहेका छौं । एउटा भीमफेदी ९ बागमारादेखि भैंसेमाथि हुँदै भीमफेदी जोड्ने सडक छ । अर्को भनेको भीमफेदीको सुपिङ-कोगटेदेखि भैसेसम्मको वैकल्पिक सडकलाई पूर्णता दिने योजना छ । यस्तै इपाको कोगटेदेखि महाभीर हुदै जाने बाटो पनि निर्माणाधीन छ । अन्य साना बाटोहरु निर्माण कार्य चलिरहेको छ । खानेपानीको कुरा गर्ने हो भने अहिले भीमफेदी बजारमा १ लाख ५० हजार घन मिटरको भीमफेदी बजार बृहत खानेपानी योजना अन्तिम चरणमा पुगेको छ । सुपिङमा १ लाख ५० हजार घन मिटरको डबल लिफ्टिङवाला खानेपानी योजनाको कार्य भइरहेको छ । अहिले हामीले एउटा ट्याङ्कीसम्म लिफ्टिङ गरेर खानेपानी पुर्‍याएका छौं । अर्को लिफ्टिङ यो साल निर्माण कार्य गरिदैंछ । यस्तै इपाको दुई ठाउँबाट खानेपानीको लिफ्टिङ गर्ने भनेर सर्वे गरिरहेका छौं । केही दिनअघि हामीले कामा गर्नका लागि सम्झौता गरेका छौं । वैकल्पिक उर्जा प्रबर्धन केन्द्रको सहकार्यमा सोलारमार्फत लिफ्टिङ पानी तानेर वितरण गर्ने तयारी गर्दैछौं । एउटा इपाको गंगटेमा र अर्को चाँही महाभीरमा ठूलो खानेपानी योजनाका लागि हामीले काम गरिरहेका छौं । चिसापानी गढी पर्यटकीय स्थलमा विभिन्न स्टेप, शौचालय निर्माण कार्य गरियो । वरिपरि मर्मत संरक्षणका लागि काम गरियो । यसपाली केही बजेट छ, केही काम गर्ने भनेर हामी सोचिरहेका छौं । कृषिको क्षेत्रमा नयाँ मोडलमा काम गर्ने भनेर अध्यक्ष ज्यू लगायत जन प्रतिनिधी बसेर हामीले योजना बनाइरहेका छौं । कृषिमा समस्या मुख्य समस्या दुई वटा छन् व्यवसायीकरण नहुनु र भएको व्यवसायिकरणको बजारीकरण हुन नसक्नु । यसले गर्दा कृषकहरुको जीवनस्तर कहिल्यै माथि उकासिन सकेन । जसकारण कृषि व्यवसायप्रति कृषकहरुको वितृष्णा जाग्यो । विदेश जानेहरुको सङ्ख्या बढ्यो । हामीले कृषिका लागि एउटा विधी नै बनाएका छौं, हरेक कृषि काम समूहमार्फत गर्ने । जस्तो-भीमफेदी गाउँपालिकाको वडा नम्बर ९ भनेको दाँते ओखर खेतीका लागि उच्च सम्भावना भएको क्षेत्र हो । त्यहाँ ओखर खेतीका लागि हामीले कस्तो विधि अबलम्बन गर्ने सोचेका छौं भने एक दुई जना कृषकलाई दुई-चार वटा ओखरको बोट वितरण गर्दा त्यो हराएर जाने, विक्री हुन पनि नसक्ने यसका लागि ओखर खेती गर्ने पन्ध्र जना व्यवसायी छनौट गर्दै उनीहरुलाई कम्तिमा पनि पन्ध्र वटा उपलब्ध गराउँछौं । पन्ध्र वटा बोट पन्ध्र परिवारले लगाउँदा विरुवा धेरै हुन्छ । उहाँहरुलाई हामीले गर्नुपर्ने सहयोग समूहमै गर्छौ । विरुवा उपलब्ध गराउँने, खाडल खन्ने, कृषि प्राविधिकलाई त्यहाँ समय समयमा जान लगाउँने, औषधि आवश्यक पर्छ भनेर सो दिन लगाउँने । काम समूहमा हुन्छ, मुनाफा चाँही सम्बन्धित कृषकले व्यक्तिगत रुपमा लिने गर्दछ । यसमा पालिकालाई कति प्रतिशत कर तिर्ने भन्ने मापदण्ड हामी पछि बनाउँछौं । गाउँपालिकाले दिन अनुदानमा आफ्नो पनि केही रकम लगानी गर्दा आफ्नो लगानीप्रति कृषकलाई माया हुन्छ । पछि उत्पादनको चरणमा गइसकेपछि हामीले बजारीकरणका लागि आवश्यक सहयोग गर्छौ । दुई सय वटा बोटको ओखर एकै पटक किन्न पाउँदा व्यापारीलाई राम्रो हुन्छ । ओखरको मैले एउटा नमूनामात्र भनेको हो मैले । यो विधि बङ्गुर पालन, बाख्रा पालनमा हुनसक्छ । किनभने गाउँपालिका भरीको बीस जनालाई बाख्रा पालनमा लगानी गर्ने सोच बनाइरहेका छौं । बीस जना बाख्रा व्यवसायी हामी दर्ता गर्छौं । उनीहरुको न्यूनतम बाख्रा कति छ त्यो तोक्छौं । उनीहरुलाई सामुहिक रुपमा तालिम दिनसक्छौं । बाख्रा व्यवसायका लागि आवश्यक खोर निर्माण गरिदिनसक्छौं । खोरको कति अनुदान हुनसक्छ त्यो हामी दिनसक्छौं । आधुनिक बोका कृषकहरुलाई हामीले बाँडीदिन सक्छौं । त्यसबाट आउँनसक्ने मुनाफा भनेको कृषकले आफ्नो-आफ्नो आफैं लिन्छ । यसो गर्दा कृषकलाई पालिकाप्रति विश्वास हुन्छ, हाम्रो लगानीले व्यवसाय प्रबद्र्घन हुन्छ । कृषि र भेटनरीको कामलाई यो तरिकाबाट गर्ने बनाइएको सोच कार्यान्वयन गर्ने बेलामा के कसो हुन्छ गर्दै जानेछौं ।
शिक्षाको सन्दर्भमा कुरा गर्दा ठूलो समस्या छ । आदरणीय शिक्षकहरुलाई रुखो शब्दले भन्न मिल्दैन । तर के छ भने आफ्नो पदीय जिम्मेवारीबाट विचलित हुन खोज्नुभएको हो कि भन्ने ठूलो महसुस हुन्थ्यो । किनभने २०-३० जना विद्यार्थी राखेर बस्नुभएको शिक्षक ४-५ दिन कक्षा गइदिनु हुन्न । त्यसको मार त बच्चामाथि पर्छ । बच्चाको मार पछि राज्यमाथि पर्छ । त्यो बच्चा बिग्रनु भनेको राज्य बिग्रनु हो । भीमफेदीमै पनि सबै शिक्षकहरुको त म भन्दिन । निकै मेहनत गर्ने, आदरणीय राम्रा व्यक्तित्वहरु पनि हुनुहुन्छ तर कुनै कुनै शिक्षक, विद्यालयको व्यवस्थापन देख्दाखेरी त आफैं रुन मन लाग्छ । इसीइडीको बच्चा तपाईले हेर्नुभयो भने विरक्तै लाग्दो देखिन्छ । तीन जना, पाँच-दश जना बच्चा कक्षामा थुनेर राखिएको हुन्छ । बस्ने ठाउँ सफा छैन,खेल्ने मेटेरियल पनि छैन । उसलाई पढाउँने शिक्षकको पनि जिम्मेवारिता छैन । बच्चा आएर भित्र पढिरहेको हुन्छ, शिक्षक बाहिर मोबाइलमा फेशबुकमा व्यस्त बनिरहेका हुन्छन् । कहिले शिक्षकलाई जात्रा लाग्छ, कहिले शिक्षक बिरामी हुन्छ । कहिले फेशबुक लाग्छ । अनौठो छ । मैले शिक्षकहरुलाई धेरै पटक सम्झाउँने गरेको छु । यस गर्दा आफू छुच्चो हुनुपरेको छ । शिक्षकको राजनीति पनि धेरै कढा, थामिनसक्नुको हुँदो रहेछ । यसलाई चिर्नु चाँही अहिले ठूलो चुनौती छ । यसलाई मैले के सोचेको छु भने हरेक विद्यायमा काम गर्दा कोही व्यक्तिपट्टि बायस भएर काम गर्नु हुदैन । सिस्टममा ढाल्नुपर्छ र संस्थाको हित हुने काम गरियो भने सफल भइन्छ । धेरै विद्यालयमा यस्ता समस्या सुल्झदै पनि गएका छन् । विद्यालयमा अनुपस्थित हुने बढी थियो पहिला । यसपाली विद्यालय निरिक्षक संयोजकका रुपमा आउँनुभएपछि हामीले उहाँलाई एक महिनामा कम्तिमा पनि चार दिन चाँही विद्यालयको अनुगमनमा पुग्नुपर्छ भनेर निर्देशन दिएका छौं । सुरुमा दुर्गम ठाउँमा पुग्न सक्नु हुन्न भने भीमफेदी गाउँपालिकाको नजिक नजिक ठाउँमा पुग्नु भनेर भनेका छौं । हप्ताको एक दिन म अनि संयोजक विद्यालय सञ्चालनको समयमा जाने भन्ने योजना बनाएका छौं । यसले गर्दा गाउँपालिकाबाट विद्यालयमा अनुगमन पनि र शिक्षाको संयोजक पनि आउँनुहुन्छ भन्ने भएपछि शिक्षकहरुको जिम्मेवारी बढ्न जान्छ । प्रत्येक मावि तहमा हामीले विद्युतीय हाजिरी जडान गरेर कार्यान्वयनमा ल्याउँदैछौं । प्रत्येक निमावि र मावि तहको विद्यालयमा चिठी टाइपिङ् र पत्राचार सम्बन्धि काम चाँही इगर्भनेन्स माध्यममा जाओस् भनेर कम्तिमा पनि एउटा प्रिन्टर, फोटोकपी मेसिन र कम्प्युट हामीले सहयोग गरेका छौं । हातले लेख्ने बानीमा सुधार आओस् भनेर हामीले यस खालको सहयोग उपलब्ध गराएका हौं । सिसिटिभीको माध्यममाफत विद्यालयमा अनुगमनको कार्य पनि हामीले गरिरहेका छौं । गाउँपालिकाका विभिन्न तीन वटा विद्यालयमा इलाब्रेरी सञ्चालनमा ल्याएका छौं । महेन्द्र माविमा यो सालबाट मिदास कक्षा पनि सञ्चालन गर्ने योजना बनाएका छौं । अरु त अतिरिक्त क्रियाकलापहरु, दिवसका अवसरमा गरिने कार्यक्रमहरु, शिक्षकलाई तालिक, बैठक, भ्रमण जस्ता कार्य हामी निरन्तर रुपमा सञ्चालन गरिरहन्छौं । हामीले गर्ने कार्य मध्ये सिसिटिभी मार्फत अनुगमन गर्नेबारे थोरै चर्चा गरौं । यसरी अनुगमन गर्नु भनेको खासमा जटिल कार्य हो । विद्यालयमा विद्युतीय हाजिरी राख्नु, सिसिटिभी राख्नु भनेको हाम्रो सिस्टम चाँही उल्टो बाटोतिर हिडीरहेको छ भन्ने जनाउँछ । किनभने यो स्वतह हुनुपर्ने कामलाई हामीले अनुगमनमा राख्नुपरेको छ । एउटा कर्मचारी अथवा शिक्षक विहान १० बजे कार्यालय पुग्नुपर्छ । तोकिएको समयमा कार्यालय पुग्नुपर्छ र तोकिएको समयसम्म कार्यालयमा बस्नुपर्छ । यद्यपी कक्षामा अनुपस्थित हुने दर बढ्दो भएकाले गाउँपालिकाको ६ वटा विद्यालयमा सिसिटिभी मार्फत इन्टरनेटमार्फत नमूनाका रुपमा अनुगमन कार्य गरिएको छ । कुनै विद्यालयमा नेट स्लो र कुनैमा नेट राम्रैसंग सञ्चालन भइरहेकाले अनुगमन कार्य सजिलो भएको छ । यसरी अनुगमन गर्दा शिक्षकहरुमा मनोवैज्ञानिक रुपमा हाम्रो अनुगमन कार्य भइरहेको छ भन्ने महसुस हुन्छ र उहाँहरु नियमित रुपमा विद्यालय, कक्षामा सहभागी हुनुहुन्छ । कक्षा ८, ९ र १० कक्षाको अनुगमन इन्टरनेटमार्फत गाउँपालिकाबाट मोबाइलमा अवलोकन गर्छौ । कक्षामा अनुपस्थिती देखियो भने हामी सम्बन्धित विद्यालयको प्रधानाध्यापकलाई फोन गर्छौ र प्रधानाध्यापकले कक्षामा शिक्षक पठाउँने गर्नुभएको छ । यस प्रकारको अनुगमनको प्रभाव सकारात्मक भइरहेको हामीले पाएका छौं ।
भीमफेदी गाउँपालिकामा पर्यटनको ठूलो सम्भावना छ । पर्यटनमा गाउँपालिकाको परिचय झल्कने गरी एउटा गीत बनाउँने सोचमा छौं । समग्र गाउँपालिकाको पूर्वाधार विकास, आर्थिक, सामाजिक,सांस्कृतिक, शैक्षिक, राजनीतिक सबै विषयलाई समेटेर पर्यटन प्रबर्धनका लागि सघाउ पुर्‍याउने खालको गीत तयार पार्ने रहर छ । चिसापानी गढी पर्यटकीय क्षेत्रलाई आवश्यक सहयोग गर्ने कार्यलाई निरन्तरता दिनेछौं । लटरम्भेश्वर मन्दिरको पर्यटन प्रबर्धनका लागि केही गर्ने सोच छ । यस पटक पर्यटनको रुट बनाउँने पनि हाम्रो सोच छ । पर्यटनको रुट भनेको हेटौंडामा अध्ययन गर्ने विद्यार्थीहरुका लागि त्यहाँबाट प्रवेश गरेपछि त्रिखण्डीपार्क, त्रिखण्डको मन्दिर र त्यहाँको अवलोकन भ्रमण, त्यसपछि कुलेखानी पहिलो फेजको हाइड्रो पावर अवलोकन, भीमफेदीको हात्तिसार अवलोकन अनि अन्तिममा चिसापानी गढी अवलोकन गर्दै देउरालीसम्म लगेर त्यहाँबाट एक दिनका लागि विद्यार्थीहरुका लागि भ्रमणको रुट बनाउँन सकिन्छ कि भनेर सोचिरहेका छौं । यस्तै, सिमभञ्ज्याङ देखि कोगटेसम्मसम्मको लालीगुराँस मार्गमा साइकिलिङ् ट्रयाकका लागि डिजाइन निकालेका छौं । अर्को योजना, भीमफेदीको वडा नम्बर २ को माथिल्लो भेगमा भ्यु टावर निर्माणका लागि स्टिमेट,डिजाइनिङ, ड्रइङ्, डीपीआर सबै तयार पारेर बजेट विनियोजन गरिसकेका छौं । यस्तै,भीमफेदीमा पेमारिक्चेन गुम्बा निर्माणको कार्य पनि हामी पहलमा जुटेका छौं । पर्यटन क्षेत्रका लागि यस्तै यस्तै योजनाहरु हामीले लिएका छौं ।
स्वास्थ्यका क्षेत्रमा कुरा गर्नुपर्दा स्वास्थ्यमा जति कर्मचारी कार्यरत हुनुहुन्छ, उहाँहरुले राम्रो काम गर्नुभएको छ । प्रदेश सरकारले गत वर्ष गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको पाँच कोठे भवन निर्माणका निमित्त रकम विनियोजन गरेको थियो । तर हामीले जग्गा एकीन गर्न नसकेकाले त्यो काम गर्न सकेनौं । अहिले हामी जग्गा खोजीमा लागिपरेका छौं । जग्गा प्राप्त भयो भने भीमफेदीमा एउटा अस्पताल बनाउँन लागिपर्नेछौं । प्रत्येक वडामा स्वाथ्य चौकी नभएको ठाउँमा इच्चुङ, बागमारा, सानुटार र सुपिङमा सामुदायिक स्वास्य इकाई स्थापनाका लागि काम गरिरहेका छौं ।

गाउँपालिकाले बेरोजगारलाई स्वरोजगार बनाउँने, आत्मनिर्भर बनाउँने खालको योजना चाँही ल्याएको छ कि छैन ?
बेरोजगारी समस्या अहिले देशको ठूलो समस्याका रुपमा छ । यसले गर्दा देशको आर्थिक विकासमा घाटा पुगेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजक पनि आउँनुभएको छ । गाउँपालिकामा बेरोजगारीको लगत सङ्कलन कार्य सम्पन्न भएको छ । केही योजनाहरु छन्, त्यसमा मेसिन प्रयोग नगरी विशुद्द बेरोजगारलाई परिचालन गरेर काम गर्ने भन्ने सहमति भएको छ । जस्तो कुनै टोलमा बाटो खन्नुपर्‍यो भने हामी त्यहाँ मेसिन प्रयोग गर्दैनौं, बेरोजगार व्यक्तिले बाटो खन्नेछन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कर्मचारीको तलब र भत्ता त आएको छ । तर योजना सञ्चालन गर्न भनेर रकम आएको छैन । योजनाका लागि पैसा आयो भने त त्यसकै कार्यक्रम सबै सञ्चालन गर्नेछौं । रकम आएन भने पनि व्यक्तिले निर्माण गर्ने खालका दुई-चार वटा योजना बनाएर काम गर्न इच्छुकलाई काम दिएर हामी पठाउँछौं ।

अहिले काम गर्ने क्रममा जन प्रतिनिधी र कर्मचारीबिच तालमेल नमिलेको गुनासो आइरहेको छ । जन प्रतिनिधीले कर्मचारीले व्यवहारिक रुपमा नहेरी केवल प्रकृयालाई मात्र ध्यान दिइरहेको बताउँछन् भने कर्मचारीहरुको कुरा चाँही काम गर्दा जनप्रतिनिधीले विधि विधान, प्रकृया बेगर काम गराउँछन् भन्ने आरोप छ । के अहिले यस्तै भइरहेको हो ? तपाईलाई के लाग्छ ?
अहिले प्रमुख प्रशासकीय अधिकृतको मुख्य चुनौतीको विषय नै यही हो । जन प्रतिनिधीहरु जनताको मत लिएर आएको हुन्छन् । उहाँहरुलाई जनताको काम तुरुन्त गरिदिन पाए हुन्थ्यो भन्ने लाग्छ । हामी निजामति पास गरेर आएका अथवा अन्य सेवाबाट आएका साथीहरु प्रकृया अनुसार काम गर्नुपर्छ भन्ने बुझ्छौं । यसमा सबैभन्दा ठूलो र सबैले मान्नुपर्ने भनेको विधी नै हो । विधीलाई फलो त सबैले गर्नैपर्छ तर विधी फलोका नाममा जनप्रतिनिधी तथा सेवाग्राहीलाई कर्मचारीले दुःख दिएको भन्ने पनि सुनिन्छ । यो चाँही दुवै कुरा राम्रो होइन । किनभने कर्मचारीले पनि विधिको पालना गर्ने भन्दैमा कानूनका नौ वटा सिङ भनेको जस्तो अनेकथरी गरेर अल्झाउँनु हुदैन । जन प्रतिनिधीले फेरी कर्मचारीलाई जसरी पनि काममा लगाउँनुपर्छ भनेर हुदैन । उहाँहरुले पनि विधिलाई मान्नुपर्छ । र, हामीले पनि विधिलाई टेकेर काम गर्नुपर्छ । यो दुइवटै अतिवादी चिन्तन हो । जनप्रतिनिधीको पनि आफ्नै अतिवादी चिन्तन, कर्मचारीको पनि आफ्नै अतिवादी चिन्तन हुनु हुदैन ।

तपाईं कार्यरत गाउँपालिकामा चाँही काम गर्न कतिको चुनौती छ ?
स्थानीय तहको मुख्य चुनौती भनेको हरेक आयोजना तथा योजनामाथि राजनीति हुन्छ । कुनै वडामा बाटो खनियो भने गुडवील लिनका लागि ठूलो लडाई हुन्छ । निर्वाचित भएका आएका जनप्रतिनिधीको त बाटो खनिदिनु, बिजुली बत्ति पुर्‍याइदिनु, खानेपानी व्यवस्था गरिदिनु त कर्तव्य हो । हामी त राज्यले खटाएको एउटा नोकरका रुपमा छौं । सरकारको पैसा लगानी गरेर बाटो खनिएको हुन्छ, त्यहाँ फलानो व्यक्तिले गर्दा बाटो बन्यो भन्ने म्यासेज जान्छ । एउटा बाटो कस कसले खनेको जस लिने हो, अनि त्यहाँ लडाई सुरु हुन्छ । त्यसको मार चाँही कर्मचारी तन्त्रमाथि आइलाग्छ । त्यस कारण नेपालमा पछिल्लो समय आयोजनामाथिको राजनीतिकरण चाँही एकदमै खराब नजिरका रुपमा बस्दै गएको छ । भीमफेदीमा त काम गर्न त्यस्तो असहज छैन । हाम्रा जनप्रतिनिधीमा केही गरौं, हामीले केही गर्नुपर्छ भन्ने सोच रहेको छ । उहाँहरुले विधी विधानलाई मान्नुहुन्छ । त्यसले गर्दा विधि विधान कार्यान्वयन गर्दै काम गर्न सहज भएको छ । मैले नै विधि फलो गर्छु भन्दै काम ढिला गरेभने त म पनि सजायको भोगीदार बन्नुपर्छ ।
अर्को कुरा,अहिले समायोजन भएर स्थानीय तहमा जाने कर्मचारीको मानसिकता कस्तो छ भने गाउँपालिका त हो नि, त्यहाँ त ढिला गएपनि हुन्छ, अलि छिटो अफिस छाडेपनि हुन्छ, नेताहरु त हुन् नि, यीनीहरुलाई किन मान्नुपर्छ र भन्ने अनुत्तरदायी प्रवृति धेरैमा देखिन्छ । यसमा सिस्टमा ढाल्न खोज्यो भने धेरै जनाबाट अवरोध हुन्छ । यसलाई हामीले एकदम कडाईका साथ लागू गर्नुपर्छ । कर्मचारी साथीहरुले पनि स्थानीय तह भनेको अवसर हो, संघीयता कार्यान्वयनका लागि स्थानीय तह पिल्लर नै हो । हामीले सही रुपमा कार्यान्वयन गर्‍यौं भने संघीयता सफल हुन्छ । स्थानीय तहप्रति आमसेवा ग्राहीको अपनत्व बढ्छ । हाम्रो व्यवहार राम्रो भएन भने सेवाग्राहीको सरकारप्रति हेर्ने नजर नै बिग्रन्छ । जनप्रतिनिधी पनि निर्वाचित भएर आउँनुभएको दुई वर्ष भयो । विगत लामो समयसम्म स्थानीय तह रिक्त भयो । स्थानीय तहमा नेतृत्व गर्ने, भूमिका निर्वाह गर्ने अभ्यास कम हुनाले काम प्रति तिब्र आशा जागेको हो कि भन्ने मलाई लाग्छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य सबैले आएका परिपत्र, विधि, पद्दति, प्रकृया पढ्नुभयो भने आफैं प्रस्ट हुनुहुनेछ । आयोजना कार्यान्वयन गर्ने क्रममा हरेक आयोजनामा एक जना जनप्रतिनिधलाई अनिवार्य त्यससंग लिङ्क गर्नुपर्छ । हामी आपसमा मिलेर गाउँपालिका विकासका लागि लागिपरेका छौं । अरु खासै समस्याहरु केही छैन । लोकखबर डटकममा यी विभिन्न विषयमा आफ्ना कुराहरु राख्न पाइएकोमा धन्यवाद ।

प्रतिकृया

One thought on “‘कक्षामा शिक्षकले मलाई खटाउँनुहुन्छ,पालिकामा उहाँहरुलाई मैले खटाउँछु।’

  1. shrestha laxmi says:

    राम्रो कामको सुरुवातको लागी हार्दिक बधाई जिबन सरलाई निकै प्रेरणादायी छ हजुरको काम,सोच,बिचार,धारणा सलुट छ

यसमा तपाइको मत

Your email address will not be published.


*