लकडाउनदेखि व्यवसायी मर्कामा परेका छन् : राउत

विश्वव्यापी माहामारीको (कोभिड -१९ ) कोरोनाले विश्वको अर्थतन्त नै धारासायी बनायो लकडाउनको कारणले । नेपाल सरकारले नेपालमा पनि १ सय २० दिनपछि बल्ल लकडाउन हटाएको छ । बल्ल-बल्ल उद्योगी व्यवसायीहरु विस्तारै-विस्तारै तङ्ग्रिन थालेका छन् । लकडाउनको बेलामा बैंकरहरुले व्यापारीहरुको ब्याज मिनाह गर्नुपर्छ । सरकारले कर छुट गर्नुपर्छ भन्ने कुरामा त्यति ध्यान नदिएको देखिन्छ । उद्योगी व्यवसायीहरुको हितको लागि सरकार र उद्योग वाणिज्य महासंघ र बैंकले के गर्नुपर्ने हो भन्ने विषयमा मकवानपुर उद्योग वाणीज्य संघका पूर्व महासचिव महेन्द्र राउतसँग जी. न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ।
लोकखबर– लकडाउन खुलेपछि व्यापारको अवस्था कस्तो छ ?
राउत– पहिलाको जस्तो व्यापार हुदैन । सवारी साधानहरु राम्रोसँग नचलेको कारण गाउँका मानिसहरु बजार आउजाउ गर्ने क्रम एकदमै न्यून छ त्यसैले फाट्ट–फुट्ट मात्र व्यापार हुन्छ यसलाई सहज स्थिति भन्न सकिदैन ।
लोकखबर –यातायातको साधान राम्रोसँग चल्यो भने जिल्ला भरिका मानिसहरु बजार किनमेलका लागि आँउछन् तिनै मानिसहरुले गर्दा बजार चल्ने हो । त्यसै भन्न खोज्नुभएको होइन त ?
राउत– हो, राम्रोसँग सवारी साधानहरु चल्यो भने त मानिसहरु किनमेल गर्न बजार आउन सक्छन् । नत्र त कसरी हुन्छ हाम्रो व्यापार ? व्यपारै नहुने त होई न बजारमा मानिसहरुले पनि हामी कहाँ सामान किन्नु हुन्छ तर त्यतिले मात्र हाम्रो व्यापार व्यवसाय चल्दैन ।
लोकखबर–बैंकको ब्याज र घरभाडा र कर तिर्न पनि यतिखेर व्यवसायीहरुलाई गाह्रो होला होइन त ?
राउत–यहाँले मुनासिब कुरा सोध्नुभयो । हामी मकवानपुर जिल्लामा करिब ५ हजार व्यवसायीहरु छौं । होला कतिले उद्योगधन्दाहरु नि चलाई राख्नुभएको छ । एकातिर बैंकको ब्याजले चर्काे परेको छ, अर्को सरकारलाई तिर्न पर्ने व्यवसाय, कर,घर भाडा, पानी, बत्ति, फोहोर मैलाको कर, घरेलु, नगरपालिका कहाँ–कहाँ मात्र तिर्ने कर ? यस विषयमा राज्यले, उद्योग वाणीज्य महासंघले उद्योग व्यवसायीहरुको विषयमा राम्रो पहल गरी दिएनन् भन्ने धेरै व्यापारीहरु विस्थापित हुने अवस्थामा छन् । कमसेकम लकडाउन अवधिभरको बैंक ब्याज, व्यवसाय कर, घर भाडा सबै नसके पनि ५० प्रतिसत छुट दिए पनि कता हो कता राम्रो हुन्थो । उद्योग वाणीज्य महासंघका सदस्यहरु नै बैंकरहरु छन् । उहाँहरुले पनि यस विषयमा गम्भिर हुन जरुरी छ । त्यही व्यापारीहरुको कर, ब्याजले प्रदेश सरकार, बैंक र सहकारीहरु चल्ने हो नत्र त मेरुदण्ड बिनाको शरीर जस्तो भइहाल्छ नि होइन त ?
लोकखबर– दैनिक कति घाटा व्यहोरी रहनुभएको छ तपाईहरुले ?
राउत – दैनिक ५ हजार घाटा भयो भने पनि महिनाको डेढ लाख घाटा हुन्छ अब हामी ५ हजार व्यापारीहरु छौ कति घाटा ब्यहोरीनुपर्छ होला ?
लोकखबर–लगभग ७०÷७५ करोड घाटा छ १ महिनामा होइन त ?
राउत –हो अब त्यसलाई बार्षिक घाटामा लैजानुस् । एकचोटी व्यवसाय घाटामा गएपछि पहिलै ठाँउमा आउन धेरै समय लाग्छ । यहाँ खाद्यान्नवालालाई सहज भयो । साबुन, सेनीटाइजर र माक्सवालालाई फाइदा भयो भन्दै सबैलाई राम्रो छ भन्ने र ढुक्कसँग सम्बन्धित निकायले बसिदिने हो भने धेरै उद्योगधन्दा , व्यवसायहरु बन्द हुन्छन् । त्यसैको असर बैंकलाई पनि र सरकार अर्थात राज्यलाई पनि पर्छ । सबैलाई सरकारले जागिर दिएर तलब खुवाउन त सक्दैन ।
लोकखबर –उद्योग धन्दा , व्यवसाय बन्द भयो भने बैंक ब्याज साहु र राज्यलाई बझाउने कर तिर्न नसक्ने मात्र होइन देशमा बेरोजगारको संख्या पनि बढ्छ भन्न खोज्नुभएको त्यही होइन त ?
राउत – हो व्यवसाय गर्दा बैंकलाई ब्याज , राज्यलाई कर मात्र तिर्दैनौ । हामीसँग काम गर्न कर्मचारीहरु हुन्छन् । तिनीहरुको पनि त रोजीरोटी छिनिएको अवस्थाहरु छ । यो अत्यन्तै जरुरी कुरा हो ।
लोकखबर –अब अन्तयमा राज्यले अर्थात, प्रदेश सरकारले के गरिदिए तपाई उद्योगी व्यवसायीहरुको उद्दार हुनेथियो?
राउत – यसमा प्रदेश सरकार र उद्योग वाणीज्य महासंघ दुवैको पहलमा बैंकको ब्याज मिनाह, घरको भाडा र व्यवसाय करमा लकडाउन अवधि भरको छुट गरिदिए र यातायात सवारी साधानहरु सहज रुपमा चले हाम्रो व्यवसाय चल्छ । त्यसो भयो भने लकडाउन अवधिभरको मारबाट हामीले पनि अलिकति भएपनि माथि उकासिन्छौं । र, फेरी नयाँ ताजा भएर बैंकको ब्याज तिर्ने, कर तिर्ने कुरा स्वस्फुर्त रुपमा गर्न सकिन्छ ।